निर्देशक कृषा चौलागाईंले आफ्नो नयाँ फिल्म ‘जहाजैमा’ का लागि जापानमा गएर निर्देशन संझौता गरेसँगै यो फिल्मको चर्चा तीव्र भएको छ। उनी अहिले फिल्मको प्रि–प्रोडक्सनमा व्यस्त छिन्। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्ने निश्चित भइसकेको छ भने फिल्ममा जापानीज नायिका रजेल इचिमिया मुख्य भूमिकामा अनुबन्धित भएकी छिन्। कृषाले जापान बसाइका क्रममा रजेलसँगको तस्बिर सार्वजनिक गरेपनि त्यसबेला नायिकाको बारेमा केही उल्लेख गरेकी थिइनन्।

‘जहाजैमा’ को सार्वजनिक पोष्टरमा रजेल पारदर्शी छातामुनि उभिएको, सफा हिउँले भरिएको दृश्य देखिएको छ, जसले फिल्मको सौन्दर्य र भावनात्मक गहिराइ संकेत गर्छ। निर्देशक चौलागाईंले नेपाल–जापान सम्बन्ध, प्रेम, सपना र संघर्ष को कथा समेट्ने यो फिल्म नयाँ ढंगको प्रस्तुति हुने बताएकी छन्। उनले जापानी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भए पनि यसले दर्शकलाई फरक स्वाद दिने विश्वास व्यक्त गरेकी छन्।

यूएनए प्रोडक्सनको ब्यानरमा उज्ज्वल गुरागाईंद्वारा निर्मित यो फिल्म सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ। नायक को हुने भन्ने टुंगो भने अझै लागेको छैन। तर, जापानी नायिका रजेललाई नेपाली फिल्ममा भित्राउनु आफैमा एक अन्तर्राष्ट्रिय प्रयोग र उपलब्धि मानिएको छ, जसले नेपाली फिल्मको अन्तर्राष्ट्रिय छवि विस्तार गर्ने अपेक्षा गरिएको छ।

For More videos Log on to Mazzako TV