गत वर्ष फागुन २९ गते रिलिज भएको नेपाली चलचित्र ‘अञ्जिला’ लगातार ९१ औँ दिनसम्म प्रदर्शनमा रहँदै सय दिनको नजिक पुगेको छ। क्युएफएक्स सिनेमा चेनअन्तर्गत सामाखुसीस्थित सिटी स्क्वायर मलमा हाल पनि फिल्म चलिरहेको छ, जहाँ बिहीबारका लागि ३ शो तय गरिएको छ। निर्माता प्रेमकुमार श्रेष्ठले १०० औँ दिनको उपलब्धिलाई ऐतिहासिक बनाउने हेतुले क्युएफएक्सले दर्शकलाई सहुलियत दर रु. १०० मा टिकट उपलब्ध गराउने तयारी गरेको बताएका छन्।

मिलन चाम्सद्वारा निर्देशित फिल्म ‘अञ्जिला’ वर्ष २०८१ को सर्वाधिक कमाउने नेपाली सिनेमाहरूको सूचीमा पाँचौं स्थानमा पुगिसकेको छ। निर्माताका अनुसार, फिल्मले हालसम्म १२ करोडभन्दा बढीको व्यापार गरिसकेको छ। चलचित्र राष्ट्रिय महिला फुटबल टिमकी पूर्व कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनकथामा आधारित छ, जहाँ एन्जिलाले आफैं प्रमुख भूमिका निभाएकी छन्। दयाहाङ राई, सिर्जना सुब्बा, विजय बराल, माओत्से गुरुङ लगायत कलाकारहरूको दमदार अभिनय रहेको फिल्मले जीवनको संघर्ष र प्रेरणालाई उजागर गरेको छ।

९० औँ दिनको अवसरमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र हेरेर भावुक प्रतिक्रिया दिएका छन्। उनले फिल्मलाई किराँती समाजको गहिरो पीडा र प्रेरणाको प्रतिनिधित्व गर्ने कथा बताए। अर्कोतर्फ, निर्देशक मिलन चाम्स हाल बेलायतको विभिन्न शहरमा ‘अञ्जिला’ को विशेष प्रदर्शन अभियानमा व्यस्त छन्, जहाँ नेपाली डायस्पोरासँग सिनेमा साझा गरिँदैछ।

For More videos Log on to Mazzako TV