‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ किन र केका लागि बन्यो ?
पछिल्लो समय नेपाली दर्शकको झुकाव इमोसनल कथावस्तु भएका सिनेमातर्फ बढ्दै गएको देखिन्छ। ‘पूर्ण बहादुरको सारंगी’, ‘बोक्सीको घर’, ‘एन्जिला’ जस्ता सिनेमाले दर्शकलाई गहिरो भावनात्मक अनुभव दिएको पाइन्छ। यही धारलाई अँगाल्दै निर्देशक हिमाल न्यौपाने ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लिएर आउँदैछन्। निर्देशकका अनुसार, यो फिल्मले आम नेपालीको संघर्ष, विशेषगरी निम्न र मध्यम वर्गीय परिवारका भोगाइलाई पर्दामा उतार्नेछ। हालै सार्वजनिक भएको गीतमार्फत आमाको माया र छोराको संघर्ष देखाउँदै कथाको आत्मा प्रस्ट पारिएको उनले बताएका छन्।

चलचित्रमा ‘एपिक नेचुरल स्टार’को रूपमा चिनिएका विजय बराल मुख्य भूमिकामा छन्। उनलाई अभिनेत्री केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, सुमन थापा लगायतले साथ दिएका छन्। चलचित्रको छायांकन काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका विभिन्न स्थानमा गरिएको छ भने हाल फिल्म पोस्ट-प्रोडक्सनमा छ। पेपरक्लिप ब्यानर अन्तर्गत निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। सह–निर्मातामा आरके मानन्धर, रुपेश लामा, चुडामणि सिवाकोटी लगायत छन्।

‘जनै हराएको मान्छे’ले रुमानी सपनाभन्दा पनि यथार्थ घटनालाई कथानकको केन्द्रमा राखेको छ। थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङको डीओपी, र भानुभक्त ढकालको लेखन रहेको फिल्ममा बलियो प्राविधिक टिम संलग्न छ। विजय बरालको ‘पूर्ण बहादुरको सारङ्गी’ पछि मुख्य भूमिकामा आएको यो पहिलो फिल्म हो। ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।
