‘सिटामोल’का तीन नयाँ पोस्टर सार्वजनिक
राज बहादुर सानेको निर्देशनमा बनेको नेपाली फिल्म ‘सिटामोल’ का तीन नयाँ पोस्टर सार्वजनिक भएका छन्। पहिलो पोस्टरमा सौगात मल्ल, बेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक मुद्रामा देखिन्छन् भने दोस्रो पोस्टरमा श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखकसहितका कलाकारहरू आफ्ना पात्रअनुसार प्रस्तुत छन्। तेस्रो पोस्टरमा सौगात मल्ललाई मात्र देखाइएको छ, जसमा उनी बैशाखीको सहारामा निराश मुद्रामा देखिन्छन्।

आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्ममा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, काजल भुजेललगायतका कलाकारको अभिनय रहेको छ। ‘सिटामोल’ ले नेपाली समाजमा गहिरो रूपमा गाडिएको कुसंस्कार र जनजीवनको यथार्थबारे बिम्बात्मक ढंगले प्रस्तुत गर्ने उद्देश्य राखेको छ।

तुल्सी देवी फिल्म प्रालिको ब्यानरमा, जुनतारा फिल्मस्को सहकार्यमा निर्माण भएको यो चलचित्रको कथा प्रदीप भण्डारी र निर्देशक सानेले लेखेका हुन्। फिल्ममा बाबुल गिरीको संगीत, कविराज गहतराजको नृत्य निर्देशन, दिव्य सुवेदीको छायांकन र मुकेश शाहको साउन्ड डिजाइन रहेको छ। निर्माता भुगोल कुमार कार्की र विकास जोशी तथा कार्यकारी निर्माता अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी रहेका छन्।
