गत चैत २९ गतेबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘पिताम्बर’ ले ५१ दिनको सफल यात्रा पूरा गरेको छ। बिहीबार रञ्जना सिनेप्लेक्स, विश्वज्योती, बीएसआर र बीग मुभिजमा ५१ दिन मनाउँदै निर्माण टिमले फिल्मको दोस्रो श्रृंखला ‘पिताम्बर २’ को घोषणा गरेको हो। रञ्जना सिनेमा हलमा आयोजित कार्यक्रममा कलाकार, प्राविधिक र पत्रकारहरूलाई सम्मानपत्र प्रदान गर्दै यो उपलब्धिमा सबैको योगदानप्रति आभार व्यक्त गरिएको थियो।

निर्देशक कृषा चौलागाईंले कार्यक्रममा आफू निकै उत्साहित भएको जनाउँदै आगामी फिल्ममा झन सशक्त प्रस्तुति दिने वाचा गरिन्। उनले भनिन्, “यो सफलताको श्रेय दर्शक, टिम र समीक्षकहरूलाई जान्छ। आगामी प्रोजेक्टमा गल्तीहरू सुधार्दै अझ बुलन्द प्रस्तुति दिनेछु।” हालै जापानमा आयोजित फिल्म महोत्सवमा उनी ‘बेष्ट डाइरेक्टर’को अवार्डसमेत जितेकी हुन्। ‘पिताम्बर’ उनको निर्देशनमा आएको दोस्रो फिल्म हो, पहिलो फिल्म ‘ऐचो पैचो’ समीक्षात्मक रूपमा सफल मानिएको थियो।

फिल्ममा प्रदीप खड्का, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, दयाहाङ राई, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झा, प्रमोद अग्रहरी, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट र दिव्या रायमाझी लगायतका कलाकारहरूको अभिनय रहेको छ। दर्शक तथा समिक्षकबाट मिश्रित प्रतिक्रिया पाएको भए पनि ‘पिताम्बर’ले ५१ दिनको यात्रा पार गर्दै व्यावसायिक सफलता हासिल गरेको छ।

For More videos Log on to Mazzako TV