‘बाहुन’ होइन अब ‘मान्छे’ : विजय बरालको नयाँ फिल्मले भन्छ सम्बन्धको कथा
चलचित्र ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ को नाम परिवर्तन गरिएको छ। अब यो सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ नामबाट रिलिज हुनेछ। हिन्दु धर्मसँग सम्बन्धित केही व्यक्ति तथा संस्थाले नामप्रति चासो देखाएपछि विवादमा नपरोस् भनेर निर्माणपक्षले ‘बाहुन’ शब्द हटाएर ‘मान्छे’ राखेको हो। आगामी भदौ ६ गते रिलिज हुने यस चलचित्रको नयाँ शीर्षकसँगै प्रमुख पात्र विजय बरालको पोस्टर पनि सार्वजनिक गरिएको छ।

पोस्टरमा रातो सट र दुईवटा झोला बोकेर निस्कन लागेका विजयलाई आमाले टीका लगाउँदै बिदाइ गरेकी देखिन्छन्। उनको अनुहारमा भावनात्मक पीडा झल्किन्छ, जसले घरपरिवार र आफन्त छोडेर सहर पस्न बाध्य पात्रको कथा संकेत गर्छ। निर्देशक हिमाल न्यौपानेले यो फिल्म आमाछोराबीचको सम्बन्ध र जीवनका भावनात्मक धागाहरूमा आधारित रहेको बताएका छन्। निर्माणपक्षले विजयलाई ‘एपिक नेचुरल स्टार’को ट्याग दिएको छ।
पेपरक्लिप ब्यानरमा निर्माण भएको फिल्ममा विजय बरालसँगै केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ। छायांकन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको फिल्म अहिले पोस्टप्रोडक्सनमा छ। कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् भने चलचित्रका निर्माता कमल र विमल न्यौपाने हुन्। गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको यो चलचित्र ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउने बहुप्रतीक्षित फिल्म हो।
For More videos Log on to Mazzako TV