अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध ब्युटी एकेडेमी आइएसएएसले आफ्नो नयाँ शाखा काठमाडौंको नयाँबानेश्वरमा सञ्चालनमा ल्याएको छ । करिब ४ करोड ५० लाख लगानीमा स्थापना भएको यो शाखाको उद्घाटन अभिनेत्री वर्षा सिवाकोटीले गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै सिवाकोटीले आइएसएएसले महिलाहरूलाई सिपमूलक तालीममार्फत रोजगारी र उद्यमशीलता प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । एकेडेमीमा कोस्मेटोलोजी, मेकअप, स्पा थेरापी, नेल टेक्नोलोजी, आइल्याश एक्सटेन्सनजस्ता ४५ भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका कोर्सहरू उपलब्ध हुनेछन् ।

आइएसएएस एकेडेमी ग्लोबल ब्युटी आइकन भक्ति साप्केले सुरु गरेको अन्तर्राष्ट्रिय ब्रान्ड हो, जसले भारत, दुबई, श्रीलंका र अब नेपालसम्म आफ्नो सञ्जाल विस्तार गरेको छ । करिब दुई दशकको अनुभव भएकी साप्के ‘सिडेस्को सेक्सन युएई’की अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा एकेडेमीले ११ शाखा स्थापना गरिसकेको छ र अब अमेरिकामा पनि शाखा खोल्ने तयारीमा छ । एकेडेमीले सीपसँगै सफ्ट स्किल, ग्राहक सेवा, व्यवसाय व्यवस्थापन र खुद्रा विक्रीसम्बन्धी तालिम पनि प्रदान गर्दै उद्यम सञ्चालन गर्न चाहनेहरूलाई उचित परामर्श दिने बताइएको छ ।

आइएसएएसको तालिमपछि विद्यार्थीहरूले सिडेस्को (स्विट्जरल्यान्ड), पी भोट पोइन्ट (अमेरिका), एलएटिटी (लन्डन) लगायत प्रतिष्ठित संस्थाबाट प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । एकेडेमीको उद्देश्य नेपालका सौन्दर्यप्रेमी युवा तथा उद्यमीलाई विश्वस्तरीय तालीम प्रदान गरी युरोप, मध्यपूर्व, अष्ट्रेलिया, क्यानाडाजस्ता मुलुकका लक्जरी स्पा, फाइभ स्टार होटल, फेसन शो र क्रुजहरूमा रोजगारीको अवसर प्राप्त गराउने हो । पछिल्ला १४ वर्षमा आइएसएएसबाट ९ हजारभन्दा बढी विद्यार्थीले स्नातक भई अन्तर्राष्ट्रिय बजारमा सफल करिअर बनाइसकेको तथ्यांक छ ।

For More videos Log on to Mazzako TV