‘ऊनको स्वीटर’ चौथो हप्तामा , ग्रस कलेक्सन १० करोड नाघ्यो
नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले चौथो हप्तामा प्रवेश गर्दा समेत दर्शकको साथ पाउन सफल भएको छ। आर्टमाण्डू नेपालको ब्यानरमा निर्माण भएको यो चलचित्रले देशव्यापी रूपमा हालसम्म १० करोड ५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले जानकारी दिएको छ। प्रदर्शनको चौथो सातासम्म पनि देशभर १०० भन्दा बढी शो चलिरहनु नेपाली चलचित्रका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।
चलचित्रले प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्दै हाउसफुल शो दिँदै आएको छ। कथावस्तु, संवाद, अभिनय र निर्देशनका पक्षमा पाइरहेको प्रशंसा र समर्थनले ‘ऊनको स्वीटर’लाई सशक्त बनाइरहेको छ। विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय रहेको चलचित्रले समीक्षक र आम दर्शक दुवैबाट राम्रो प्रतिक्रिया पाएको छ।

ओभरसिज कलेक्सन सार्वजनिक नभए पनि विदेशमा पनि चलचित्रको प्रदर्शन सन्तोषजनक रहेको निर्माण पक्षको भनाइ छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले व्यापारको आधारमा यसलाई ‘सुपरहिट’ घोषित गरिसकेको छ। साथै, ‘ऊनको स्वीटर’ वि.सं. २०८२ सालको पहिलो सुपरहिट चलचित्र बन्न सफल भएको छ।
For More videos Log on to Mazzako TV