‘जिन्सेओ एरिगाटो इन्टरनेशनल फिल्म फेस्टिभल २०२५’ मा सहभागी हुन अभिनेता सौगात मल्ल, अनुप विक्रम शाही, कृषा चौलागाईं र सलोन बस्नेत जापान प्रस्थान गरेका छन्। उनीहरू यहीँ मे २५ मा हुने उक्त अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा नेपाली फिल्म प्रतिनिधित्व गर्दै सहभागी हुनेछन्। नेपालमा चर्चा कमाएको फिल्म ‘पिताम्बर’बाट सौगात मल्ल बेस्ट एक्सन एक्टर, अनुप विक्रम शाही ब्रेक थ्रु परफमेन्स, र कृषा चौलागाईं बेस्ट डाइरेक्टर विधामा नोमिनेसनमा परेका छन्।

‘पिताम्बर’की निर्देशक कृषा चौलागाईंले एक्सन जनरामा फरक प्रस्तुति दिएर दर्शक र समीक्षक दुबैको ध्यान तानेकी छन्। यसअघि ‘ऐँचोपैचो’ निर्देशन गरेर चर्चा कमाएकी कृषाले निर्माता हुँदै निर्देशनमा पाइला टेकेकी हुन्। ‘पिताम्बर’मा सौगात मल्लको दमदार एक्सन र अनुप विक्रम शाहीको प्रभावशाली अभिनयले फिल्मलाई अझै सशक्त बनाएको छ। फिल्म अहिले पनि नेपालका हलहरूमा सफल प्रदर्शनरत छ।

यसैगरी, फिल्म ‘रंगी’ बाट सलोन बस्नेत बेस्ट एक्टरको नोमिनेसनमा परेपछि उनी पनि कार्यक्रममा सहभागी हुन जापान उडेका छन्। महोत्सवमा विभिन्न देशका फिल्महरू प्रस्तुत गरिनेछन् भने नेपाली फिल्मलाई विश्व बजारसम्म पुर्‍याउने लक्ष्यका साथ युना इन्टरटेन्मेन्ट सक्रिय रहेको छ। जापानमा नेपाली फिल्मको वितरण र प्रचारप्रसार गर्दै आएको यस कम्पनीका प्रमुख उज्ज्वल गुरागाईं का अनुसार, यो फेस्टिभल नेपाली फिल्मका लागि ऐतिहासिक सफलता सावित हुने अपेक्षा गरिएको छ। पुरस्कार वितरण समारोह मे २५, साँझ ५ बजे जापानको मेनिकन कला र संस्कृति मेमोरियल फाउन्डेसन, नागोया मा हुनेछ।

4o

For More videos Log on to Mazzako TV