दिव्या रायमाझी दुई एक्सन नायकसँग नयाँ फिल्म ‘राम नाम सत्य’मा
नायिका दिव्या रायमाझीले नेपाली चलचित्र क्षेत्रमा चर्चित दुई एक्सन नायक विराज भट्ट र सुशील श्रेष्ठसँग पर्दा शेयर गर्न लागेकी छिन्। उनले निर्देशक माइकल चन्दको निर्देशनमा बन्ने फिल्म ‘राम नाम सत्य’ साइन गरेकी हुन्। आइतबार दिव्या र निर्माण टिमबीच कागजी सम्झौता भएको हो। दिव्याले फिल्मको कथा र आफ्नो भूमिकाले आफूलाई गहिरो रूपमा छोएको बताउँदै, “कथा वेजोड छ, भूमिका निकै मन पर्यो, त्यसैले यो फिल्म साइन गरेकी हुँ,” भनिन्।

माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा तयार हुन लागेको फिल्मको छायांकन साउनदेखि सुरु हुने योजना छ। एक्सन, पारिवारिक, प्रेम र सस्पेन्स मिश्रित यो फिल्ममा उपेन्द्र शाही, स्वेता विमली र उत्तम गुरुङ निर्माता छन् भने डा. डीआर उपाध्याय र नरेन्द्र शाह कार्यकारी निर्माताको रूपमा रहेका छन्। फिल्ममा अर्जुन पोखरेल र बवुल गिरीको संगीत, सुशन प्रजापतिको छायांकन रहने पक्का भइसकेको छ। ‘एक्टर: टेक वान’बाट डेब्यू गरेकी दिव्याको पछिल्लो रिलिज फिल्म ‘पिताम्बर’ हो। पछिल्लो पुस्ताकी सर्वाधिक माग भएकी अभिनेत्री मानिने दिव्या अहिले वर्कशपमार्फत भूमिका निर्माणमा जुट्न लागेकी छन्।
