चन्द्र पन्तले ‘आ बाट आमा’ निर्माण गर्ने, भदौबाट छायांकन
निर्देशक चन्द्र पन्तले आफ्नो दोस्रो निर्देशनमा तयार गर्न लागेको नयाँ चलचित्र ‘आ बाट आमा’को निर्माण औपचारिक रूपमा घोषणा गरेका छन्। सोमबार सार्वजनिक गरिएको थिम पोस्टरमार्फत उनले फागुन १५ गतेलाई चलचित्रको प्रदर्शन मिति तोकेका छन्। पोस्टरमा एक बच्चा रोइरहेकी आमालाई आँसु पुछ्दै सान्त्वना दिइरहेको दृश्य देखिन्छ, जसले फिल्म आमाप्रतिको सन्तानको माया र भावनात्मक सम्बन्धमाथि केन्द्रित रहने संकेत गर्दछ। चलचित्रको कथा अभिमन्यु निरवीले लेखेका हुन्।
आर्या इन्टरटेन्टमेन्टको प्रस्तुति रहने ‘आ बाट आमा’को छायांकन भदौबाट सुरु हुने जनाइएको छ। फिल्ममा को-को कलाकार रहनेछन् भन्नेबारे निर्माण पक्षले हाल खुलाएको छैन। निर्देशक पन्तका अनुसार अहिले थिम पोस्टर मात्र सार्वजनिक गरिएको हो भने केही दिनभित्रै कलाकार र प्राविधिक टिमको विवरण सार्वजनिक गरिनेछ। पारिवारिक भावनामा आधारित यस फिल्मले आमाको भूमिकालाई केन्द्रमा राखेर दर्शकको हृदय छोने प्रयास गर्नेछ।

चन्द्र पन्तले यसअघि एक्सन जनराको चलचित्र ‘ह्रस्व दीर्घ’ निर्देशन गरेका थिए, जुन सफल सावित भएको थियो। ‘ह्रस्व दीर्घ’ ले नेपालमा राम्रो व्यापार मात्र गरेन, भारतको प्रतिष्ठित ओटीटी प्लेटफर्म ‘जी फाइभ’ले पनि यसलाई खरिद गर्यो। यो जि फाइभमा किनेको पहिलो नेपाली फिल्म थियो। त्यसपछि निर्देशक पन्तले अबको प्रोजेक्टमा पारिवारिक भावनात्मक पक्षलाई छुन चाहेका हुन्। बहुपरिचित द्धन्द्ध निर्देशकका रूपमा स्थापित पन्तको यो दोस्रो निर्देशनले नयाँ ढंगको कथा दिन सक्ने अपेक्षा गरिएको छ।
For More videos Log on to Mazzako TV