‘ऊनको स्वीटर’को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक
हाल आक्रामक व्यापार गरिरहेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ आइतबार सार्वजनिक गरिएको छ। गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय तथा नृत्य देख्न सकिन्छ, जसले दर्शकको ध्यान खिचेको छ। चलचित्रका निर्देशक नवीन चौहानका अनुसार, दर्शकको मागअनुसार गीत रिलिज गरिएको हो। उनका अनुसार, प्रारम्भिक दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले सार्वजनिक नगरिएको थियो।

गीतमा सुजन चापागाईँ र सलिना विकको स्वर रहेको छ भने संगीत चापागाईँले नै तयार पारेका हुन्। हर्क साउदको शब्द रचना रहेको गीतमा कोरियोग्राफी रोशन बिकले गरेका छन्। एरेन्जमेन्टमा कुशल सिंह र विकेश बज्रको सहयोग रहेको छ। शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘ऊनको स्वीटर’ ले तेस्रो दिन आइतबारसम्म उल्लेखनीय व्यापार गरिरहेको छ। दर्शकको उत्साह अझै घटेको छैन। सोमवार सार्वजनिक बिदा भएकाले व्यापार अझ तीव्र हुने अपेक्षा गरिएको छ।

विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनीत चलचित्रका ट्रेलर, टिजर र गीतहरूले दर्शकको आकर्षण खिचिरहेका छन्। पहिलो दिनदेखि नै देखिएको दर्शकको उल्लेखनीय उपस्थिति फिल्मको सफल यात्राको सङ्केत हो।
