‘नरसिंहाः अवतार’को ट्रेलरले दुई दिनमै १० लाख भ्यू
दुई दिनअघि सार्वजनिक गरिएको चलचित्र ‘नरसिंहाः अवतार’ को ट्रेलरले युट्युबमा १० लाखभन्दा बढी भ्यू पाइसकेको छ। युट्युबको मुभी सेक्शनमा फिल्म ३ नम्बरमा ट्रेन्डिङमा रहेको छ। दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म दर्शकको उत्कृष्ट प्रतिक्रिया बटुल्दै अगाडि बढिरहेको छ।
म्युजिक नेपालको युट्युब च्यानलमा सार्वजनिक गरिएको ट्रेलरमा हालसम्म ४ हजार ३ सयभन्दा बढी प्रतिक्रिया आएका छन्, जहाँ अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन्। राजेश हमालको गर्जन लामो समयपछि हेर्न पाउँदा दर्शक उत्साहित देखिएका छन्। सामाजिक सञ्जालमा ट्रेलरलाई व्यापक रूपले शेयर गरिएको छ।

महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक फिल्म भएकाले पनि दर्शकको प्रतिक्षा उच्च छ। फिल्ममा नीति शाह, राज कटुवाल, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, अर्जुन श्रेष्ठ, उषा खड्गी, दीपा शाही, रमेश चन्द सोडारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, एल्भिना खड्का, र समाइरा थापालगायत कलाकारको अभिनय छ।
फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ बोलको गीत समेत दर्शकमाझ चर्चामा छ। ट्रेलरले उच्च हाइप बनाएकाले फिल्मले बक्स अफिसमा सुखद ओपनिङ गर्ने अपेक्षा गरिएको छ। फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, दीपक ढकाल र ध्रुव न्यौपानेको लगानी रहेको छ