ऊनको स्वीटर’को भव्य प्रिमियर सम्पन्न
शुक्रवारदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘ऊनको स्वीटर’ को भव्य प्रिमियर बुधबार साँझ काठमाडौंको कमलपोखरीस्थित बिग मुभिजमा सम्पन्न भयो। एक हजारभन्दा बढी अतिथि, कलाकार, राजनीतिकर्मी, सञ्चारकर्मी र शुभेच्छुकहरूको उपस्थितिले हल खचाखच भरिएको थियो। कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, राप्रपा नेपालका अध्यक्ष राजेन्द्र लिङ्देल, सांसद शोबिता गौतम, सांसद विनीता कठायत, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, अभिनेता दयाहाङ राई, अभिनेत्रीहरू केकी अधिकारी र अञ्जना बराइलीजस्ता विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। चलचित्र युनिटबाट प्रमुख कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई र निर्देशक नवीन चौहानसहित सम्पूर्ण टिम उपस्थित थियो।

चलचित्र हेरेपछि अतिथिहरूले खुलेर प्रशंसा गरे। उपसभामुख राना मगरले प्रेमको गहिरो भाव प्रस्तुत गरेको भन्दै चलचित्रको तारिफ गरिन्। अभिनेता दयाहाङ राईले ‘ऊनको स्वीटर’ लाई ‘गजबको कृति’ भन्दै उत्कृष्ट समीक्षा गरे। सांसद शोबिता गौतमले चलचित्रको दृश्य, कथावस्तु र सामाजिक सन्देश अत्यन्त मन परेको बताइन्। अभिनेत्री केकी अधिकारीले निर्देशक नवीन चौहानको तारिफ गर्दै यो चलचित्र आफूले हेरेका उत्कृष्ट प्रेमकथाहरू मध्ये एक भएको बताइन्।
चलचित्र टिम पनि भावुक देखिएको थियो। विपिन कार्कीले दर्शकको माया देखेर आफू भावुक भएको बताए भने मिरुना मगरले दर्शकलाई छुन सफल भएको भन्दै खुसी व्यक्त गरिन्। पहिलो चलचित्रमै यति ठूलो प्रतिक्रिया पाएपछि एलेक्स पारस उत्साहित देखिए। परीक्षा लिम्बुले आफू पात्रमै डुबेको अनुभव सुनाइन्। गीत निर्देशक तथा गायक सुजन चापागाईँले सबैलाई धन्यवाद दिँदै शुक्रवारदेखि चलचित्र दर्शकको जिम्मामा रहेको जनाए। निर्देशक नवीन चौहानले आत्मिक प्रतिक्रियाहरूले आफूलाई निकै ऊर्जा दिएको बताए। फिल्मको अग्रिम टिकट बिक्री देशभरका हलहरूमा सुरु भइसकेको छ। वितरक गोविन्द शाहीका अनुसार चलचित्रले ३०० भन्दा बढी शो पाएको छ, जुन निकै उत्साहजनक सङ्ख्या हो।

सुजन चापागाईँ र झुमा लिम्बुको संगीत रहेको ‘ऊनको स्वीटर’ का “फूल”, “मखमली” र “काफ्ले” गीतहरू सामाजिक सञ्जालमा लोकप्रिय भइसकेका छन्। ट्रेलर र टिजरमार्फत नै चलचित्रले राम्रो चर्चा बटुलेको छ। आर्टमाण्डू प्रा.लि.को ब्यानरमा बनेको यो चलचित्रमा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राईसहित सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, भावना खपाङ्गी मगर लगायतको अभिनय रहेको छ। पाँचथर र फालेलुङ क्षेत्रमा छायांकन गरिएको चलचित्रले नेपाली समाजको विविधता र प्रेमकथा प्रस्तुत गर्ने प्रयास गरेको छ। चलचित्रले युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ।
