फिल्म ‘माइतीघर’को छायांकन आजबाट म्याग्दीको ताकम गाउँमा शुभसाइत गर्दै सुरु गरिएको छ। स्थानीय गणेश मन्दिरमा पूजा गरेर शुभारम्भ गरिएको छ, जहाँ फिल्म टिमलाई बाजा बजाएर भव्य स्वागत गरियो।

निर्माता रोहित अधिकारीका अनुसार ताकम र धारपानीमा २० दिन र दरबाङको तातोपानी क्षेत्रमा बाँकी २० दिन छायांकन हुनेछ। धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन प्रमुख अतिथि रहेका समारोहमा वडाध्यक्ष अशोक खत्रीले नरिवल फोरेर कार्यक्रमको सुरुवात गरे।

मिलन तामाङको निर्देशनमा निर्माण भइरहेको फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायत कलाकारको अभिनय रहनेछ।सुसन प्रजापतिको छायांकन रहने फिल्मलाई दशैंको फूलपातिमा रिलिज गर्ने तयारी छ। तामाङ संस्कृतिको कथा बोकेको फिल्म ४० दिनमा छायांकन गरिनेछ।

निर्माण रोहित अधिकारी फिल्मस्को ब्यानरमा हुँदैछ भने कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्। ‘गाजलु’, ‘छ माया छपक्कै’जस्ता हिट फिल्म निर्माण गरेका अधिकारीले यसपटक ग्रामीण संस्कृति र पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विषय उठाएका छन्।

For More videos Log on to Mazzako TV