नागेन्द्र र रचनाको ‘यति माया गरूँ कि तिमीलाई’ सार्वजनिक
चर्चित गीत आधा दुख घटाएर का संगीतकार नागेन्द्र श्रेष्ठ र गायिका रचना रिमालको स्वर रहेको यति माया गरूँ कि तिमीलाई गीतको भिडियो सार्वजनिक भएको छ। प्रेमिल जोडीको रोमान्चक प्रेमकथा प्रस्तुत गरिएको यस गीतलाई गायक श्रेष्ठले हरेक प्रेमी जोडीका लागि उपहारका रूपमा व्यक्त गरेका छन्। गीतकार सिएल शर्माका शब्दहरूमा नागेन्द्र श्रेष्ठ र रचना रिमालको स्वर अत्यन्तै सुन्दर ढंगले बगेको छ। रिलिज भएको छोटो समयमै गीतले लोकप्रियता हासिल गरेको छ।

यस गीतमार्फत नागेन्द्र श्रेष्ठ करिब डेढ दशकपछि पुनः गायनमा फर्किएका छन्। रेडियो नेपालका पुराना गायक श्रेष्ठ हरेक वर्ष ३ देखि ४ वटा गीत बजारमा ल्याउँदै आएका छन्। यति माया गरूँ कि तिमीलाई रिलिज भएसँगै चर्चामा छ, जसमा धेरैले टिकटक र रिल्स बनाइसकेका छन्।
भिडियोमा मोडल प्रविन डिसी र समीक्षा न्यौपानेले अभिनय गरेका छन्। निर्देशक जश बहादुर याक्ख्याले उनीहरूको अभिनयलाई प्रभावशाली बनाएका छन्। कालिन्चोकमा छायांकन गरिएको भिडियोको छायांकन ज्ञानेन्द्र हुमागाईं र सन्तोष तिमल्सिनाले गरेका छन् भने सम्पादन मिन रावलले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ दिनेश न्यौपानेले गरेका छन् भने एरेञ्ज याकुब तामाङले गरेका हुन्। प्रवासमा रहेर पनि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय श्रेष्ठका आधा दुख घटाएर, तिमी बिना, तिमी सुस्तरी, बाँचुन्जेल, उड्ने रहर, तिम्रो बारे, सुस्तरी सुस्तरी, थोपा, जिन्दगीकी रहोमे, वैशाखे घाम जस्ता गीतहरू लोकप्रिय छन्।
गीत दर्शक(श्रोताले मन पराएकोमा गायक श्रेष्ठले खुशी व्यक्त गरेका छन्। उनले गीतकार सिएल शर्माको रचनालाई विशेष रूपमा सम्झँदै प्रेम, जीवन, र आशाको भाव समेटिएको बताएका छन्। हाल हङकङमा बस्दै आएका श्रेष्ठ नेपाल भ्रमणका क्रममा आफ्नो प्रेमकथाको रमाइलो अनुभव पनि बाँडे।
उनले संगीतमा इज्जत र प्रतिष्ठा कमाएको बताउँदै भने, हामी कलाकारलाई धेरै पैसा होइन, धेरै माया चाहिन्छ। भोलिका दिनहरूमा अझ रचनात्मक ढंगले अघि बढ्दैछु। यो गीतलाई अझ धेरै दर्शकमाझ पुर्याउनु छ, किनभने यसमा साँच्चिकै जीवन छ।