‘कृष्णा लिला’मा भर्सटायल पुष्पको यति धेरै मेहनत, के होला अब ? (भिडियो)
नायक पुष्प खड्काले आगामी भदौं ३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृष्णलीला’ मा निकै फरक भुमिका निर्वाह गरेका छन् । अटिजम भएको एक पात्र अनि उसले गर्ने प्रेम, धेरैलाई निकै अनौठो लाग्ने हाउभाउ । यसका लगि पुष्पले निकै नै मेहनत गरेका छन् ।
हुन त यसअघि पनि पुष्पले चलचित्र ‘मंगलम’ मा न्युरोलोजिकल डिसअर्डर भएको एक युवाको भुमिका निर्वाह गरेका थिए, जुन चरित्रले उनलाई उत्कृष्ट नायकको रुपमा राष्ट्रिय चलचित्र पुरस्कार पनि जिताएको थियो । अब नयाँ चलचित्र ‘कृष्ण लिला’ को यो भुमिकाले भने उनलाई कस्तो गर्ने हो हेर्न बाँकी छ ।
चलचित्र ‘कृष्णलिला’ को क्यारेक्टरलाई पर्दामा जिवन्त उतार्न नायक पुष्प खड्काले निकै नै मेहनत गर्नु परेको थियो । भदौ ३ गतेबाट रिलिज हुने चलचित्र ‘कृष्णा लिला’मा अटिजम भएका मानिसलाई समाजले गर्ने ब्यबहार अनि उनले कसैलाई गर्ने प्रेम बीचमा कथा घुमेको छ । यो भुमिका पुष्पका लागि निकै चुनौतीपुर्ण थियो ।
सिनेमाबाट अफर आउने बित्तिकै जब उनले स्क्रिप्ट पढे, त्यसपछि उनलाई यो क्यारेक्टर गर्न सक्छु या सक्दिन निकै दोधार पनि भयो । अन्तत सिनेमाको लागि मेहनत गर्ने, केही अटिजम भएका ब्यक्तिहरुसँग सँगै बसेर उनीहरुको हाउभाउ नियाल्ने अनि क्यारेक्टर बिल्डअप गर्ने मनयासमा पुष्प पुगे । पुष्प भन्छन्, सिनेमाको अफर आउने बित्तिकै मेरो दिमागमा केही मानिसहरु घुमे । एकपटक एउटा भाइलाई म्युजिक भिडियो छायांकनका क्रममा भेटेको थिएँ ।
ती भाइ बिस्तारै बोल्थे, अस्वभाविक हाँस्थे । उनमा अटिजमको लक्षण थियो,’ उनले तयारीका लागि भेटेका मुख्य पात्रको स्मरण गर्दै भने । ती भाइलाई भेट्नका लागि पुष्पले उनका बाबुआमालाई फोन पनि गरे । तर, उनीहरुका बाबुआमाले छोरालाई एक मिनेट पनि पुष्पसँग बस्न दिन तयार भएनन् । पुष्प भन्छन्–‘मलाई उहाँहरुले छोरालाई एक मिनेट पनि बाहिर निस्कन नदिने बताउनुभयो । यसपछि, मलाई अटिजम मैले सोचेभन्दा पनि संवेदनशील रहेछ भन्ने महसुस भयो ।’
बाबु आमाले भेट्न नदिएपछि पुष्पले ती भाइलाई आफैँ फोन गरेका थिए । पुष्प भन्छन्–‘मैले ती भाइलाई २ घन्टामा घरमै ल्याइदिने भनेर बाबु आमालाई विश्वस्त तुल्याएपछि बल्ल भाइसँग गफ गर्ने मौका पाएँ ।’ पुष्पले ती भाइको हाउभाउलाई नजिकबाट नियाले, केही भिडियोहरु पनि खिचे । पछि ती भिडियोहरु छायांकनका क्रममा काम लागेको उनको भनाइ छ ।
यो फिल्मका लागि पुष्पले आशान्त शर्मासँग १५ दिनको अभिनय तालिम समेत लिएका थिए । फिल्ममा बच्चा जस्तो व्यवहार देखाउनुपर्ने भएकाले पुष्पले ४ वर्षकी आफ्नी भान्जीसँग पनि समय बिताएका थिए ।
पुष्प भन्छन् –‘बच्चाहरु चन्चले हुन्छन् । हात खुट्टा दिमाग चाडो चल्ने हुन्छ । मैले भान्जीसँग समय बिताउँदा ती गतिविधि पनि नियालेको थिएँ ।’ पुष्पको दिमागमा अटिजमलाई लिएर धेरै कुरा खेल्न थालेका थिए । उनी भन्छन्–‘हाम्रो समाजमा यस्तो समस्या भएका व्यक्तिहरुलाई हेप्ने गरिन्छ, विश्वास गरिदैन । कतिपयले त मजाक समेत उडाउने गर्छन् । तर, यस्ता पात्रहरुलाई माया गर्नुपर्छ । फिल्ममा हामीले यही सन्देश दिन खोजेका छौँ ।’ पुष्पको भनाई यस्तो छ ।
फिल्म छायांकनका क्रममा कतिपय दृश्यमा त पुष्प भक्कानिएका पनि छन् । उनले अगाडि भने–‘मैले यस अवधिमा अटिजम भएको पात्रलाई ५० प्रतिशत मात्र वुझ्न सकेँ जस्तो लाग्छ । मेरो अभिनय हेरेर दर्शकले अटिजमबारे २० प्रतिशतमात्रै पनि वुझ्नु भयो भने म सफल भएको मान्नेछु । पुष्पले जसरी ‘मंगलम’मा काम गर्दा न्यूरो डिसअर्डर भएको पात्रलाई बलियो तरिकाले पर्दामा निर्वाह गरेका थिए, यसपटक अटिजम भएका पात्रको भूमिकाका लागि पनि शत प्रतिशत दिने कोशिस गरेका छन् ।
राम्रो अभिनय गर्नका लागि हिरोइज्म मात्र नभएर पात्रबारे गहिरो अध्ययन पनि आवश्यक पर्ने पुष्पको भनाइ छ ।
दीपक वलीको निर्देशनमा बनेको फिल्म कृष्णलिलामा श्रद्धा क्षेत्री, रवीन्द्र झा, बुद्धि तामाङ हिउवाला गौतम, आयुष गुरागाँई आदि कलाकारको पनि अभिनय रहेको छ । लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा अर्जुन पोखरेलको संगीत रहेको छ । कृष्णलिला चलचित्रलाई प्रकाश राज कार्की र केवल तामाङ्गले मिलेर बनाएका हुन् । सिनेमाको कार्यकारी निर्मातामा रतन श्रेष्ठ रहेका छन् । सिनेमामा रामजी लामिछाने र माईकल चन्दको कोरियोग्राफी रहेको छ ।
नायक पुष्प खड्काको निकै भिन्न अवतार देखिने यो सिनेमाको गीत र ट्रेलरले दर्शकहरुमा एक किसिमको कौतुहलता जगाएको छ अब सिनेमाले कस्तो गर्ने हो, त्यो भने भदौ ३ गतेपछि थाहा भई नै हाल्नेछ । तर उनको मेहनतले रंग लाउनेमा निर्माता निर्देशक ढुक्क देखिएका छन् ।
For More videos Log on to Mazzako TV