‘मारुनी’ को औपचारिक घोषणा

नवल नेपाल निर्देशित फिल्म ‘मारुनी’ को औपचारिक घोषणा गरिएको छ । मंगलबार’ राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फरक शैलीमा फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मका निर्देशकदेखि कलाकारहरुलाई र्याम्पमा प्रस्तुत गरियो । निर्मात्री पुनम गौतमले निर्माण गर्ने फिल्ममा नायिका साम्राज्ञी आरएल शाह, नायक पुष्पल खड्का र नव नायिका रेविका गुरुङ मुख्य भुमिकामा रहने छन् ।

माघ दोस्रो साताबाट छायांकन आरम्भ हुने फिल्मले दुई सुन्दरी युवतीको कथा भन्ने निर्देशक नेपालले बताए । लेखक गोविन्द फुँयालको कथा रहेको फिल्ममा अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत रहनेछ । सञ्जय लामाले फिल्म खिच्नेछन् । फिल्म काठमाडौं र बाँके लगायतका स्थानमा छायांकन हुने छ । निर्देशक नेपालले भने, ‘‘मारुनी’ लाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं ।’’

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्मात्री पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सहकार्य गरेका छन् । त्रिकोणात्मक प्रेमकथामा निर्माण हुन लागेको फिल्ममा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । सायरा आचार्य, आभाष सिंह, स्वर्णिम पौडेल र सौर्य अधिकारी बाल कलाकारमा रहेका छन् ।










