हेलिकप्टर चार्टर गरेर सौगात र ‘वीर विक्रम’ नायिका किन गए सामागाउँ ?
फिल्म ‘बमकाजी’ छायाँकनका लागि अभिनेता सौगात मल्ल, ‘वीर विक्रम’ डेव्यु नायिका दिया पुन र कलाकार बुद्धि तामाङ ‘हैट’ सहित ६ जनाको टोली गोर्खा जिल्लाको सामागाउँस्थित मनास्लु वेस क्पाम्प उडेको छ । हेलिकप्टर चार्टर गरेर सौगातको टोली सोमबार ३ बजे त्यसतर्फ उडेको हो । उनीहरुलाई फिल्मको टिमले खादा लगाएर बिदाई गरेको थियो ।
स्थानिय रहनसहन र संस्कृतिलाई नजिकबाट नियाल्नु पर्ने भएकाले कलाकारको टोली ‘बमकाजी’ को छायाँकन सुरु हुने केही दिन अगाडी नै मनास्लु उडेको निर्देशक खिलबहादुर गुरुङले बताए । निर्देशक गुरुङका अनुसार फिल्मको छायाँकन यही मंसिर २५ गतेदेखि सुरु हुनेछ । परिच्छेद सेनको कथा र साम्तेन भुटियाको पटकथा तथा संवाद रहेको फिल्ममा सौगात, दिया र हैटसँगै कलाकार वीर बहादुर लामा मुख्य भूमिकामा प्रस्तुत हुनेछन् । चार हजार फिटमा रहेको मनास्लु वेस क्याम्पमा ‘बमकाजी’ को सम्पूर्ण छायाँकन गरिनेछ भने फिल्मको शिर्ष भूमिकामा सौगात प्रस्तुत हुँदैछन् ।
सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहेको फिल्म ‘बमकाजी’ लाई सञ्जय लामाले खिच्नेछन् भने प्रोडक्सन डिजाईन बुद्धिलाल मगरले गर्दैछन् । फिल्मको छायाँकन पैतालिस दिनमा सक्ने लक्ष्य राखिएको छ ।