अमेरिकामा रहेकी प्रियंका कार्कीलाई पाँच प्रश्न : के तपाई आफ्ना पुर्व पतिलाई भेट्नु हुन्छ ?
नायिका प्रियंका कार्की यतिबेला अमेरिकामा छिन् । आफ्नी आमालाई लिएर केही साता अघि अमेरिका उडेनी प्रियंका अझै एक महिना जसो त्यहाँ बस्नेछिन् । विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाइरहेकी प्रियंकासँग मज्जाको अनलाईन डटकमका उत्सब रसाईलीले भाइवरमा पाँच प्रश्न राखेका छन् ।
१.के तपाईं खाली समयको सदुपयोग गर्न अमेरिका जानु भएको हो ?
त्यस्तो होइन । म खेल्छु भनेको फिल्म पनि छोडेर अमेरिका आएको छु । जस्तो ‘मरिना’ खेल्ने भनेको थिएँ । यहाँ आउने भएर समय मिलेन । मैंले चार पाँच महिना अगाडी नै अमेरिकामा आउने सहमती गरिसकेको थिएँ । अर्को कुरा असार साउनमा कमै फिल्म फ्लोरमा जान्छन् । यही कारणले पनि मेरा अमेरिका भ्रमण यही बेला पारेको हो । यो एक महिनासम्म कार्यक्रम नै कार्यक्रम छ । त्यसकै लागि आएको हो ।
२.फिल्म, म्युजिक भिडियो, विज्ञापन अनि देश तथा विदेशका कार्यक्रमहरुमा तपाईं व्यस्त हुनुहुन्छ । यसलाई भन्नेहरु के पनि भन्छन् भने, ‘प्रियंकाको स्पिड धेरै भयो दुर्घटना हुन सक्छ ।’ तपार्इं यसमा के भन्नुहुन्छ ?
संगीत, कला र खेलकुदमा लाग्नु भनेको नराम्रो होइन । जेमा लागेपनि हामीले लगाव र परिश्रम चाहिं गर्नु पर्छ । जस्तो संगीतमा लागेको छ भने काम छैन घरमै बस्छु भन्ने होइन । जति सक्दो बाहिर निस्कनु पर्छ । मान्छेहरुलाई भेट्ने, आफुलाई ‘एक्सप्लोर’ गर्नुपर्छ । जुन मेरै हकमा पनि जब म चार पाँच वर्षको थिएँ, म ऐना अगाडी बसेर ‘हेयर ड्रायर’ ले कपाल उठाएर कुनै फिल्ममा म यसरी नै कपाल उठाउँछु भन्थें । म अहिले फिल्ममा कपाल उठाइ राखेको छु । म मेरो सपनालाई ‘लिड’ गरिरहेको छु । त्यसैले गर्दा म यति खुसी छु कि मेरो करिअरमा दुर्घटना कहिल्यै हुँदैन । ६० वर्षको उमेरमा पनि म यस्तै हुन चाहान्छु । पाँच वर्ष अमेरिका बसेर मैंले फिल्मी करिअरमा ‘ब्रेक’ लगाएँ । यसैले यी सबै कुरा आफ्नो मिहेनतमा भर पर्ने हो । तपाईं कति स्टारलाई छुन चाहानु हुन्छ भन्ने हो । जति स्टारलाई छुन खोज्यो तपाईंको हात त्यति नै माथि उठ्छ ।
३.तपाईंको अबको सपना चाहिं हो ?
मसँग सपनाको ‘लिस्ट’ धेरै छ । मेरो अभिनय गर्ने, नृत्य गर्ने सपना थियो । त्यो अहिले पुरा गरिरहेको छु । यसमा म निकै नै खुसी छु । तर अब चाहिं ‘पब्लिक फिगर’ भैसकेपछि सामाजिक उत्तरदायित्व पनि आउँदो रहेछ । मलाई एकदमै बच्चाहरु मन पर्छ । मेरो गीतहरुले गर्दा पनि मलाई बच्चाहरुले चिन्ने गर्दछन् । धेरै बच्चाहरु छन्, जसलाई डान्स गर्न मन लाग्छ तर सिक्न पाइरहेका छैनन् । यसैले निः शुल्क डान्स स्कूल खोल्ने सपना छ । यो सँगै होम प्रोडक्सन खोलेर गुणस्तरिय फिल्म बनाउने योजना छ । अभिनय, देश तथा विदेश भ्रमण त मेरो हुने नै छ । म हजुरआमाको उमेरसम्म पनि अभिनय गरिरहन्छु ।
४.आमासँगको पहिलो अमेरिका उडान कस्तो हुँदैछ ?
नेपालमा हुँदा एकदमै व्यस्त हुन्थें । कुनै कार्यक्रममा मम्मीलाई बोलायो भनेपनि मम्मी दर्शक दिर्घामा बस्नु हुन्थ्यो । उहाँसँग सँगै बस्ने खासै समय हुँदैन्थ्यो । मम्मीलाई केही हदसम्म थाहा थियो, छोरी ‘पपुलर’ छ । उसँग धेरै समय छैन भनेर । तर यसपालीे अमेरिकासँगै आउँदा मम्मीलाई के थाहा भयो भने, म कुन हदसम्म मिहेनत गर्छु भनेर । उहाँहरुले जहाँ बोलाएपनि समयमा पुग्न सक्दिन्थें । तर उहाँलाई यसपाली थाहा भयो कि, किन चाहिं त्यस्तो हुँदो रहेछ भनेर ? मम्मीलाई पनि मेरो हरेक कार्यक्रममा सबै सामु चिनाई रहेको छु । यसकारण यस पालीको अमेरिका यात्रा साह्रै मज्जाको भैरहेको छ । घरबाट बाहिर छु भन्ने अनुभव नै भैरहेको छैन । मम्मीले समयमै खाना खुवाइरहनु भएको छ । यसकारण नेपाल फर्किंदा मोटाउने ‘चान्स’ धेरै छ ।
५.अमेरिकामै रहनु भएका तपाईंका पुर्व पतिसँग भेट्ने कुनै योजना छ त ?
हामी अहिले पनि एकदमै मिल्ने साथी छौं । ऊ नेपाल आएको बेलामा पनि मैंले उसलाई भेटेको थिएँ । यसपाली पनि यही हप्ता न्यूयोर्क जाँदैछु । मेरो भाई ऊ सँगै बस्छ । सायद म उसलाई भेट्छु होला । तर पक्का चाहिं छैन ।