‘प्रेमगीत’ले मनायो ५१ दिनको सफलता पार्टी
सफलता पार्टी नभनी चलचित्र ‘प्रेमगीत’ यूनिटले ५१ दिन मनाएको भन्दै पार्टी आयोजना गरेको छ । राजधानीको एक फुड ल्याण्डमा आयोजना गरिएको पार्टीमा फिल्मीकर्मी, पत्रकार र फिल्मको टिम सहभागी थिए ।
सफलता पार्टीको अवसरमा पुगेका सूचना तथा संचारमन्त्री शेरधन राइले मायाको चिनो प्रदान गरे । उनले नेपाली फिल्म अब यही अवस्थामा नरहने र विकासको गतीमा अगाडि बढ्ने बताए । चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले ५१ दिन मनाएको भन्दै फिल्मलाई वधाई दिए ।
सन्तोष सेनले निर्माण गरेको यो फिल्मलाई सुदर्शन थापाले निर्देशन गरेका हुन् । प्रदिप खड्का र पूजा शर्मा फिल्मका मुख्य कलाकार हुन् । फिल्मको ५१ दिने पार्टीमा रंग पत्रकारहरुलाई पनि मायाको चिनो प्रदान गरियो । कार्यक्रममा पूजा शर्मा, प्रदिप खड्काका साथमा कोरियोग्राफर रेनशा राई, निर्देशक सुदर्शन थापा, संगीतकार अर्जुन पोख्रेल, गायिका अन्जु पन्त, निर्माता सन्तोष सेन विशेष हाइलाइटमा रहे । यो फिल्म माघ २९ गतेबाट रिलिज भएको थियो । काठमाण्डौका केही हलमा यो फिल्म अझै पनि चलिरहेको छ ।