महिला निर्देशकमा दीपालाई सफलताको चुनौती ?
नेपाली फिल्म निर्देशनमा महिला निर्देशक कमै मात्र छन् । बर्षमा बन्ने सय बढी फिल्ममा एकाध फिल्म मात्र महिला निर्देशकको नामसँग जोडिन्छ । सायद, यसैले पनि होला नेपाली फिल्ममा अभिनेत्री बाहेक अन्य हरेक विधामा पुरुषकै बाहुल्यता छ ।
तर, अब फिल्म निर्देशनमा महिला निर्देशकको पनि नाम सुनिन थालिएको छ । सुचित्रा श्रेष्ठले फिल्म निर्देशन गरेर आफूलाई पहिलो महिला निर्देशकको रुपमा चर्चित बनाएकी थिइन् । तर, उनको न फिल्म चल्यो न उनी नै । रक्षा राणा पनि फिल्म निर्देशनमा आइन् तर सफल भइनन् । फिल्म निर्देशनमा अहिले केही महिलाहरु अगाडि सरेका छन् । दीपा बस्नेतले पनि २ वटा फिल्म निर्देशन गरिन् तर व्यवसायिक रुपमा असफल भयो । संझना रौनियार पनि फिल्म निर्देशनमा सक्रिय त छिन् तर व्यवसायिक रुपमा सफल हुन सकेकी छैनन् ।
नायिका रेखा थापाले फिल्म ‘हिम्मतवाली’ आफै निर्देशन गरिन् । तर, रेखा सो समयमा फिल्म निर्देशनमा तयार थिइनन् । निर्देशक श्याम भट्टराइसँग झगडा परेपछि रेखाले उनलाई निकालेर फिल्म निर्देशनमा होमिएकी थिइन् । रेखाको फिल्म हिट भयो । तर, रेखाको निर्देशनमा निरन्तरता भने देखिएको छैन ।
अब, अभिनेत्री दीपाश्री निरौला पनि फिल्म निर्देशनमा अगाडि आएकी छिन् । हाँस्य कलाकारको रुपमा कमाएको ख्यातीलाई बचाउनु त उनको अगाडि चुनौती छदै छ त्यसमा पनि महिला निर्देशकले बनाएका फिल्म सफल नभएको समयमा उनलाई यो क्रम तोड्नु छ ।
उनले निर्देशन गरिरहेको फिल्म ‘छक्का पन्जा’को हाल धमाधम सुटिङ भैरहेको छ । दीपाको साथमा अन्य थुप्रै नाम चलेका सारथी पनि छन् । तर, पनि दीपा सफल भइन् भने यसले अर्को नयाँ चर्चा कायम गर्नेछ । फिल्म असोज २१ गतेबाट रिलिज हुने चर्चा छ ।
For More videos Log on to Mazzako TV