जेनजीको आन्दोलन समेटिएको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक
काठमाडौं । जेनजी आन्दोलनका बिषय समेटिएको वरिष्ठ सौन्दर्यविद् सुष्मा महराको शब्द तथा अभिनय रहेको देशभक्तिपूर्ण गीत ‘म नेपाली हुँ, मेरो देश नेपाल’ सार्वजनिक गरिएको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा जेनजी आन्दोलनका तीन सहित परिवार उदयपुरकी अम्बिका विश्वकर्मा ९जसले बानेश्वर संसद भवन अगाडिको श्रीमान् गुमाइन०्, कीर्तिपुरका विष्णु बहादुर तामाङ ९शहीद बुद्धि बहादुर तामाङका बुबा० र पार्वती अधिकारी९जसले आन्दोलनमा आफ्ना छोरा गुमाइन्०को उपस्थितीमा गीत सार्वजनिक गरिएको हो ।

गायक सत्यराज आचार्यको स्वर, वरिष्ठ सङ्गीतकार पुरुषोत्तम न्यौपानेको सङ्गीत र दीक्षित पौडेलको सङ्गीत संयोजन रहेको यस गीतले राष्ट्रियता, सामाजिक यथार्थ र देशको वर्तमान अवस्थालाई समेटेको छ। शक्ति प्रज्वल घिमिरेको निर्देशनमा तयार पारिएको भिडियोले देशको राजनीतिक र सामाजिक परिवेशलाई ऐना देखाउने प्रयास गरेको छ।
भिडियोमा एकातिर ‘जेनजी’ पुस्ता सडकमा अधिकारका लागि आन्दोलन गरिरहेका र रगत बगाइरहेका मार्मिक दृश्यहरू छन् भने, अर्कोतिर सत्ताको बागडोर सम्हालेका नेताहरू बन्द कोठामा कुर्सीको खेलमा व्यस्त रहेको देखाइएको छ। विशेष गरी आन्दोलनको क्रममा सडकमा छाडिएको रगत लतपतिएको जुत्तालाई भिडियोमा प्रतिकका रूपमा प्रयोग गरिएको छ। भिडियोमा गीतकार महरा जेनजी सहिदको आमाको रुपमा प्रस्तुत भएकी छन् । उनले सहिद भएपछि आमाले भोजेको दुःख महरा मार्फत देखाइएको छ ।
भिडियोका परिकल्पनाकार उज्वल जंग शाह हुन् । कार्यक्रममा शाहले आन्दोलनमा ज्यान गुमाउने युवाहरूको सम्मानमा भिडियो निर्माण गरिएको बताए । उनले भिडियो एक ऐतिहासिक दस्तावेज भएको बताउदै शहिदका सपना र वर्तमान व्यवस्थाको अवस्थाबारे आउँदो पुस्तालाई झक्झकाउने बताए ।
आफु पनि एक जेनजीको आमा भएकोबताउदै देशमा ७२ जना शहीद हुनु सामान्य कुरा नभएको बताइन् । उनले शान्तिपूर्ण परिवर्तन खोज्ने युवामाथि गोली बर्साइनु दुःखद भएको बताउदै युवाहरू काम खोज्दै विदेश पलायन भइरहेका छन्, तर सरकार र राजनीतिक नेतृत्व भने सत्ताकै लुछाचुँडीमा लागेको आरोप लगाइन् । महराले २३ र २४ गतेका घटनाहरूले आफूलाई यो गीत लेख्न प्रेरित गरेको समेत बताइन् ।
कार्यक्रममा उपस्थित शहीद परिवारले आन्दोलन र त्यसपछिको पीडा सुनाउँदै राज्यले घोषणा गरेको सहयोग समेत नपाएको गुनासो गरे । आफ्नो परिवारको सदस्य गुमाउँदाको पीडामा मल्हम लगाउनुको साटो राज्यले उपेक्षा गरेको उनीहरूको भनाइ थियो।
राजेश घिमिरेको छायाङ्कन र सतिश श्रेष्ठको सम्पादन रहेको गीतले विविधतामा एकता र देश सुधारका लागि सबै नेपाली एकजुट हुनुपर्ने सन्देश दिएको छ।








