अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्यामा यही पौष १६ गते, बुधवार (डिसेम्बर ३१, २०२५) झापाको शिवसताक्षी दुधे रंगशाला देशकै ठूलो भीड सम्हाल्न तयार हुँदैछ। शिवसताक्षी नगरपालिकाले आयोजना गर्न लागेको ‘शिवसताक्षी म्युजिक फेस्ट २०२६ – न्यू इयर इभ कन्सर्ट’ नयाँ वर्षलाई उत्साह, ऊर्जा र मनोरञ्जनसहित स्वागत गराउने उद्देश्यले गरिएको हो। नयाँ वर्षको काउन्टडाउनलाई अविस्मरणीय बनाउन कन्सर्टमा राष्ट्रियस्तरका चर्चित कलाकारहरूको उपस्थितिले उत्सवको ताप झनै बढाउनेछ।

कार्यक्रमको मुख्य आकर्षण र्यापर भिटेन (समिर घिसिङ) हुनेछन्, जो पहिलोपटक शिवसताक्षी नगरपालिकामा आफ्नो लाइभ प्रस्तुति लिएर आउँदैछन्। भिटेनको स्टेज ऊर्जा, स्टाइल र भिड–मोहक परफर्मेन्सले कार्यक्रमलाई विशेष बनाउने आयोजकले बताएका छन्। साथै, लोकप्रिय पप गायक कमल खत्री, चर्चित गायिका रचना रिमाल, कन्दरा ब्यान्ड, युवापुस्ताको प्रिय Lizard Band, तथा विभिन्न स्थानीय कलाकार र ब्यान्डहरूले पनि धमाकेदार प्रस्तुति दिनेछन्।

नयाँ वर्षको रातलाई अझै रोमान्चक बनाउन तयार गरिएको यो कन्सर्टले शिवसताक्षीलाई एकदिनका लागि राष्ट्रिय संगीत केन्द्रजस्तै बनाउनेछ। स्थानीय दर्शकका लागि यो वर्षको सबैभन्दा ठूलो मनोरञ्जनात्मक अवसर मानिएको छ भने बाहिरबाट आउनेहरूको लागि शिवसताक्षीको संगीत–संस्कृति नजिकबाट अनुभव गर्ने मौका हुनेछ।

For More videos Log on to Mazzako TV