हल सञ्चालकलाई ‘जारी २’को प्रदर्शन पूर्व टेस्ट गर्न अनुरोध, फिल्मले पायो ‘यू’ सर्टिफिकेट
कार्तिक २१ गते भोली शुक्रबारबाट विश्वव्यापी प्रदर्शनमा आउने बहुप्रतिक्षित सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ निर्माण टिमले सिनेमाको साउण्ड लेवलका बारेमा हल सञ्चालकलाई जानरी दिएको छ । बिहीबार एक विज्ञप्ती सार्वजनिक गर्दै हल सञ्चालकलाई सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु पूर्व एक पटक टेस्ट रन गर्न अनुरोध गरेको हो ।

सिनेमाको निर्माण टिमले सार्वजनिक विज्ञप्तीमा भनिएको छ, ‘हामीले सिनेमा ‘जारी २’को साउण्ड मिक्सिङ इमर्सिभ साउण्ड फर्म्याटमा सम्पन्न गरेका छौं, जसका कारण दर्शकहरूले यो सिनेमालाई डल्बी एटमस, डिटिएसःएक्स र अरो म्याक्स प्रणालीमा साउण्ड अनुभवका साथ हेर्न सक्नेछन् ।’
यो सिनेमाको मिक्सिङ कार्य डल्बीको फेडर युनिट ५.८ मा गरिएको हो । देशभर सञ्चालनमा रहेका प्रत्येक सिनेमा हलमा साउण्ड प्रेसर लेभल (एसपीएल) फरक-फरक हुने भएकाले यो सिनेमाको व्यावसायिक प्रदर्शन सुरु गर्नु अघि एक पटक टेस्ट रन गर्न सवै सिनेमा घरलाई अनुरोध गर्दछौं ।
हामीले अघिल्ला सिनेमा प्रदर्शनका क्रममा पाएका अनुभवमा हलहरूमा सिनेमा प्रोसेसर युनिट ३, ३.५, ४ वा ४.५ फरक-फरक अडियो लेबलमा प्रदर्शन हुन्छ, जसले एउटै सिनेमाको साउण्ड फरक-फरक सुनिने अवस्था सिर्जना गर्छ । यसले सिनेमा हलको प्रणाली मापदण्ड अनुसार क्यालिब्रेट भएको छ कि छैन भन्ने यकिन गर्न कठिन बनाउँछ जसले गर्दा सिनेमाको साउण्ड अप्राकृतिक रूपमा लाउड अथवा सानो सुनिन सक्छ ।

डल्बी मापदण्डअनुसार सिनेमाको मिक्सिङ फेडर युनिट ७ मा गरिएमा सिनेमाघरमा पनि प्रदर्शन पनि त्यही फेडर युनिट ७ मा हुनुपर्छ । तर, कतिपय हलहरूले (साउण्ड बढी हुन्छ) भनेर भोल्युम घटाउने प्रचलनका कारण सिनेमाहरूमा लाउड मिक्सिङ गरिन्छ जसको परिणाम साउण्ड डिस्टोर्सन र क्वालिटी हानि हुन्छ छ । यो अभ्यास गलत हो ।
यी सवै कुरालाई ध्यानमा राख्दै हामीले सिनेमा ‘जारी २’लाई डल्बी फेडर युनिट ५.८ मा मिक्सिङ गरेका छौं । त्यसैले सवै सिनेमा हलहरूलाई अनुरोध छ, ‘सिनेमा प्रदर्शन अघि न्यूनतम भोल्युम युनिट ५ बाट टेस्ट रन गर्नुहोस् र साउण्ड स्तर कम-बढी लागेमा त्यहि अनुसार साउण्ड लेबल सेट गरिदिनु हुन विनम्र अनुरोध गर्दछौ ।’
यदि हाम्रो सिनेमालाई ३, ३.५ वा ४ युनिटमा चलाइएमा साउण्ड सानो सुनिन सक्छ, त्यसैले मापदण्ड अनुसारको भोल्युम स्तर कायम गरिदिनु हुन अनुरोध गर्दछौं । सिनेमा ‘जारी २’लाई दर्शकले राम्रो साउण्ड अनुभवका साथ सुन्न सकून् भन्ने हाम्रो उद्देश्य हो । त्यसैले सवै सिनेमा हलहरूलाई प्राविधिक सहयोग र समन्वयका लागि हार्दिक अनुरोध गर्दछौं । यसका साथै भविष्यमा बासुरी फिल्मस्को सिनेमालाई हामि फेडर युनिट ७ मा मिक्सिंग गर्दै दर्शकलाई उत्कृष्ट अनुभव दिने कोशिस गर्नेछौं ।
यस्तै, आजै सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ सेन्सर पास भएको छ । यो सिनेमाले चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)ले युनिभर्सल सर्टिफिकेट पाएको छ । यो सर्टिफिकेट पाएसँगै सवै उमेर समुहका दर्शकले सहजै सिनेमा हेर्न पाउनेछन् । सेन्सरमा ‘जारी २’ हेरेका पदाधिकारीले लिम्बु समुदायको कथामा निर्माण भएको यो सिनेमालाई उत्कृष्ट प्रतिक्रिया दिएका छन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
For More videos Log on to Mazzako TV







