दिया पुनद्वारा माउन्ट एल्ब्रुस सफल आरोहण
अभिनेत्री तथा पर्वतारोही दिया पुनले युरोपको सबैभन्दा अग्लो शिखर माउन्ट एल्ब्रुस (५,६४२ मिटर) सफलतापूर्वक आरोहण गरेकी छन्। उनले जुन १० तारिखको बिहान टेजन गुरुङ (एलिट एक्सपेडिसन) र रसियन गाइड लिउन अताबिएभ तथा एड्गरसँगै शिखरमा पाइला टेक्दै ऐतिहासिक सफलता हात पारिन्। एलिट एक्सपेडिसन प्रा.लि.को आयोजना रहेको यो अभियानमार्फत पुनले “सेभेन समिट्स” चुनौतीअन्तर्गत चौथो शिखर पार गरेकी हुन्। यसअघि उनले माउन्ट एभरेष्ट (एशिया), किलिमन्जारो (अफ्रिका) र अकोंकागुवा (दक्षिण अमेरिका) आरोहण गरिसकेकी छन्। अब उनका आगामी लक्ष्यहरूमा कार्स्टेन्स पिरामिड (ओसियानिया), डेनाली (उत्तर अमेरिका) र माउन्ट विन्सन (अन्टार्कटिका) छन्।

पुनले शिखर चढ्दा आफ्नै अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘एक्लो’ को पोस्टर र नेपालको राष्ट्रिय झन्डा साथमा बोकेकी थिइन्। हाल ‘एक्लो’ ले कान्स फिल्म फेस्टिभलमा स्टलमार्फत प्रचारप्रसार गरेको थियो र त्यसयता चलचित्रको चर्चा थप चुलिएको छ। पर्वतारोहण र सिनेमाजगत दुवै क्षेत्रमा सक्रिय पुनको यो सफलताको देश-विदेशमा प्रशंसा भइरहेको छ।
