‘च्याम्पिएन’ सेन्सर पास
फागुन १४ गते रिलिज हुने भनिएपनि कलाकारको विवादका कारण रोकिएको फिल्म ‘च्याम्पिएन’को सेन्सर पास भएको छ । यसअगाडि चलचित्र विकास बोर्डले इजाजत नदिएपछि फिल्मको सेन्सर हुन पाएको थिएन र प्रदर्शन सारिएको थियो ।
फिल्मका निर्माता कृष्ण पोख्रेलले दिएको जानकारी अनुसार अब फिल्म फागुनको २८ गते चल्ने छ । वीवी फुयाँलको निर्देशनमा तयार भएको फिल्ममा दीकपाल कार्की र मन्जिता केसी मुख्य भूमिकामा छन् ।
यो फिल्मले नेपाली क्रिकेटको कथालाई समावेश गरेको छ । एक पात्रले क्रिकेटमा गरेको संघर्ष र सफलताको कथालाई फिल्मले उठान गरेको छ । निर्माता पोख्रेलले सेन्सर बोर्डका कर्मचारीले फिल्म हेरेपछि नेपालमा पनि यस्तो स्तरिय फिल्म बन्छ भनेर प्रतिक्रिया दिएको बताए ।