बहुप्रतिक्षित फिल्म ‘बलिदान’ असोज १३ गते फूलपातीको दिनबाट प्रदर्शनमा आउँदैछ। निर्देशक तथा निर्माता सन्तोष सेनले यसलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्यबोधको प्रतीकका रूपमा प्रस्तुत गरिएको बताएका छन्।

गत शुक्रबार सार्वजनिक गरिएको ट्रेलरले चलचित्र क्षेत्रमा उत्साह बढाएको छ। यसअघि पोस्टर, टिजर र गीतमार्फतै उत्सुकता बढाएको फिल्मले ट्रेलरमार्फत झन् ठूलो अपेक्षा निर्माण गरेको हो। ट्रेलरमा आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य, समीर भट्टको दमदार प्रवेश, सौगात मल्लसँगको द्वन्द्व, तीव्र एक्सन र सशक्त संवादहरूले चर्चा पाएको छ।

उनका अनुसार, कथावस्तुलाई पर्दामा उतार्न निकै चुनौतीपूर्ण भए पनि लामो समयको धैर्य र मेहनतपछि चलचित्र तयार भएको हो। “हामी आमाको कोखबाट जन्मिन्छौँ र मातृभूमिको काखमा हुर्कन्छौँ। यी दुवै आधारलाई चलचित्रमा समेटिएको छ,” सेनले भने। उनका भनाइमा ‘बलिदान’ले दर्शकलाई केवल रमाइलो मात्र नभई देशप्रतिको जोस र आमाप्रतिको भावनामा जोड्नेछ।

चलचित्रको शीर्ष गीत ‘यो ज्यान बलिदान’ हाल जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ। सुजन चापागाईंको स्वर–संगीत र हर्क साउदको शब्दमा बनेको गीतले देशभक्तिको भावनालाई अझ प्रज्वलित बनाएको छ।

‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता रायलगायत कलाकारको अभिनय देख्न पाइनेछ। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन्।

निर्देशक सेनले ‘बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार, दर्शकले फिल्म हेर्दा मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीबारे गहिरो सन्देश पाउनेछन्।

For More videos Log on to Mazzako TV