निर्माता तथा निर्देशक सन्तोष सेनको प्रस्तुतिमा बनेको फिल्म ‘बलिदान’ को ट्रेलर सार्वजनिक गरिएको छ। संविधान दिवसको अवसर पारेर शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको करिब तीन मिनेट लामो ट्रेलरले फिल्मको मूल कथा र भावनात्मक पृष्ठभूमिलाई प्रस्तुत गरेको छ।

फिल्मले एक छोराले आमा र देशको सम्मान र सुरक्षाका लागि गर्ने संघर्षलाई केन्द्रमा राखेको छ। ट्रेलरमा विशेषगरी एक्सन दृश्य, दमदार संवाद, आकर्षक ब्याकग्राउन्ड स्कोर र स्तरिय छायांकनलाई प्राथमिकता दिइएको देखिन्छ। प्रोडक्सन भ्यालु पनि भव्य देखिने ट्रेलरले दर्शकलाई उच्चस्तरको सिनेमाटिक अनुभव दिने संकेत गरेको छ।

मुख्य भूमिकामा रहेका अभिनेता समीर भट्टलाई ट्रेलरमा निकै शक्तिशाली रूपमा प्रस्तुत गरिएको छ। उनको संवाद — “देश बेच्ने कुटिलको बली, नत्र मातृभूमिका लागि यो ज्यान बलिदान” — ले चलचित्रको भाव र संदेशलाई अझ गहिरो बनाएको छ। साथै, ट्रेलरमा सौगात मल्ल र समीर भट्टबीचको द्वन्द्व, अर्पण थापाको नेताको भूमिका, र ऋचा शर्माको आमाको भावनात्मक संवाद विशेष आकर्षण बनेका छन्।

यसअघि पनि देशभक्ति र बलिदानलाई केन्द्रमा राखेर बनेका फिल्महरूले दर्शकको मन जितेका छन्। ‘बलिदान’ पनि त्यही परम्परालाई निरन्तरता दिने प्रयास हो भन्ने देखिन्छ। ऋचा शर्माले आमाको भूमिकामा प्रस्तुत गरेको भावनाले कथा अझ प्रभावशाली बनेको छ भने सौगात र अर्पणले फरक अवतारमा दर्शकलाई चकित पार्नेछन्।

आसुसेन फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा प्रेम पुरी, कविता राय, कामेश्वर चौरासिया, जीवन बराल, प्रजल दुलाल लगायत कलाकारहरूको समेत अभिनय छ। फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।

आगामी असोज १३ गते ९दशैंको फूलपाती० मा रिलिज हुने ‘बलिदान’ ले बक्स अफिसमा आक्रामक व्यापार गर्ने अपेक्षा गरिएको छ। देशभक्ति, परिवार र बलिदानको कथा समेटिएको यस चलचित्रले दर्शकको मनमा विशेष छाप छोड्ने विश्वास लिइएको छ।

For More videos Log on to Mazzako TV