“३५ दिनमै पूरा हुने लक्ष्यसहित ‘कुमारी’को छायाङ्कन शुरु”
चलचित्र ‘कुमारी’ को छायाङ्कन मंगलबार बिहान ललितपुरको बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै सुरु गरिएको छ। निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण भइरहेको यस चलचित्रको छायाङ्कन पाटन क्षेत्रबाट सुरु भएको हो। सम्पूर्ण छायाङ्कन ३५ दिनमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ। चलचित्रमा अविषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहेका छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारलगायतका कलाकारको पनि अभिनय रहनेछ।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भइरहेको चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गर्दैछन् भने स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। यसअघि घोषणा तथा कलाकार सार्वजनिक कार्यक्रममा गायक केहर सिंह लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको गीत ‘कता छौ’ चर्चामा आएको थियो। यही गीतमार्फत गायक लिम्बुले पार्श्व गायनमा डेब्यु गरेका छन्। चलचित्रमा संगीत केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको रहेको छ भने गीतका शब्द सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले लेखेका छन्।

निर्देशक दिनेश राउतले यसअघि ‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता सफल प्रेमकथा चलचित्र निर्देशन गरिसकेका छन्। त्यसपछि ‘पर्व’, ‘महाभोज’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित चलचित्र निर्देशन गरेका उनी ‘कुमारी’ मार्फत फेरि प्रेमकथामा फर्किएका हुन्। चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, केदार भुसाल कार्यकारी निर्माता, आशिका शर्मा प्रोडक्सन डिजाइन, दिनेश बहादुर रावत मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्। रिया अधिकारीको कविता, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन, सुप्रिम पराजुलीको रङ्ग संयोजन, उत्तम न्यौपानेको साउन्ड डिजाइन र किरण थापाको कोरियोग्राफी रहनेछ।
