लोक फ्लेवर र फिल्मी स्टाइल देखाउँदै, चलचित्र ‘हरिबहादुरको जुत्ता’ को दोश्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ। आशिस अविरल र मेलिना राईको स्वरमा तयार गीतले दर्शकको ध्यान खिच्न सफल भएको छ। दानबहादुर कार्कीको शब्द र दिपक शर्माको संगीतले सजिएको यो गीतमा किरण थापाको कोरियोग्राफी अनुसार हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन्। कृष्ण बहादुर थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन्।

चलचित्रका निर्माताहरूको विश्वास छ कि लोक फ्लेवर र फिल्मी स्टाइलको समिश्रणले दर्शकको मन जित्नेछ। यसअघि सार्वजनिक ‘बेला बितेसी’ बोलको गीत युट्युबमा २० लाखभन्दा बढी पटक हेरिएको र २ लाखभन्दा बढी टिकटक भिडियो बनिसकेको छ। दोश्रो गीतले पनि पहिलो दिनमै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको छ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने र कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) बाट प्रदर्शनमा आउँदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण गरिएको यस चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका हुन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीतमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।

For More videos Log on to Mazzako TV