मज्जाको अनलाईन, चैत्र १२ गते विहिबार, २०७१, काठमाण्डौं ।

चर्चित हाँस्य जोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा रहेका नेपालीहरुलाई प्रहसनमार्फत हँसाउने भएका छन् । अमेरिकाको दुई दर्जन राज्यमा आयोजना गर्न लागेको ‘२०७२ नयाँ वर्ष धमाका भाग १’ कार्यक्रममा यो जोडीले सरसफाई अभियानको चेतनासँगै प्रहसन मार्फत दर्शकलाई हसाँउनेछ । सरकारले केही समय अघि सरसफाईको दुत नियुक्त गरेको यो जोडीसँगै यो यात्रामा गायक प्रमोद खरेल, लोकगायक पशुपति शर्मा र गायिका संगीता थापा मगरको पनि सहभागिता हुनेछ ।

Dhurmus Suntali
कार्यक्रमबारे जानकारी गराउन राजधानीमा बिहिीबार पत्रकार भेटघाटको कार्यक्रम आयोजन गरिएको थियो । कार्यक्रममा धुर्मुस सुन्तलीले सरसफाई अभियानको सचेतना अमेरिकामा कार्यक्रमको दौरान पनि बाड्ने बताए । धुर्मुसका अनुसार उनले अमेरिकामा रहेका नेपालीहरुलाई सुदुरपश्चिम क्षेत्रमा रहेका बासिन्दालाई सर्बसुलभ चर्पी बनाउने अभियानमा सहयोग गर्न आग्रह गर्ने समेत बताए ।

अप्रिल ४ बाट शुरु हुने यो कार्यक्रम लगभग एक महिना अमेरिकाका विभिन्न स्टेटहरुमा प्रस्तुत हुने बताईएको छ । आयोजन संस्था डब्लुबीएमसी नेपालकी सीईओ शारदा पौडेल रेग्मीले कार्यक्रमबाट उठेको रकम अनाथ आश्रममा सहयोग गर्ने जानकारी गराएकी छिन् ।

For More videos Log on to Mazzako TV