मज्जाको अनलाईन समाचार, काठमाण्डौं । 

चलचित्र निर्माता संघ र चलचित्र संघबिच नयाँ सम्झौता भएको छ । दुई संघबिच पहिला भएको सम्झौतालाई यथावत् राख्दै सोमबार चलचित्र संघको भवनमा दुई संघका अध्यक्ष राजकुमार राई र नकिम उद्दिन बिच ११ बुँदे सम्झौता पत्रमा हस्तारक्षर भएको हो । संघका दुवै अध्यक्षले आफ्ना सदस्यलाई अनुशासनमा बाँध्न पछिल्लो सम्झौता आवश्यक रहेको बताए । ११ बुँदे संझौतामा उल्लेख भए अनुसार, अब चलचित्र बनाउने निर्माता र चलचित्र प्रदर्शन गर्ने प्रदर्शक क्रमशः निर्माता संघ र चलचित्र संघको अनिवार्य रुपमा सदस्य बन्नुपर्नेछ ।  निर्माता र चलचित्र संघबिच भएको ११ बुँदे संझौताको पूर्ण विवरण यस प्रकार छ ।

samjhauta

१. नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्ने इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र निर्माता संघको सदस्य रही निर्माण गरेको चलचित्र नेपाल चलचित्र निर्माता संघमा अनिवार्य दर्ता गर्नुपर्ने छ ।

२. नेपाल सरकार, चलचित्र विकास बोर्डबाट चलचित्र वितरण इजाजत प्राप्त व्यवसायी नेपाल चलचित्र संघका वितरक सदस्यहरुलाई मात्र नेपाली चलचित्र निर्माताहरुले चलचित्र वितरणको अधिकार दिनुपर्ने छ ।

३. नेपाल चलचित्र निर्माता संघमा दर्ता भएका नेपाली चलचित्रहरुमात्र नेपाल चलचित्र संघमा सदस्य भएका चलचित्र वितरकले अनिवार्य रुपमा नेपाल चलचित्र संघमा चलचित्र दर्ता गरेर मात्र प्रदर्शन गर्नुपर्ने छ ।

४. नेपाल चलचित्र संघको सदस्य रहेका प्रदर्शकहरुलाई मात्र चलचित्र वितरकले चलचित्र प्रदर्शनका लागि दिनुपर्नेछ । सदस्य नरहेका प्रदर्शकहरुलाई चलचित्र प्रदर्शन गर्न दिए सो वितरकको चलचित्र रोक लगाउन दुबै संघ सहमत गर्दछौ ।

५.  चलचित्र प्रदर्शन समाप्त भएको मितिले १५ दिन भित्र प्रदर्शकले हरहिसाब फरफारक गर्नुपर्ने छ । फरफारक नगरी अटेर गर्ने प्रदर्शकलाई चलचित्र प्रदर्शनमा रोक लगाउन सकिने छ ।

६. निर्माता वा वितरकहरुले आफ्नो चलचित्र प्रदर्शनका लागि प्रदर्शकहरुलाई अनावश्यक दबाब दिएको खण्डमा त्यस्ता चलचित्रलाई नेपालभर प्रदर्शन रोक लगाउन सकिने छ ।

७. नेपाल चलचित्र निर्माता संघ र नेपाल चलचित्र संघमा दर्ता नभएका चलचित्रहरु वितरण तथा प्रदर्शन गर्न पाइने छैन । तर, कुनै पनि वितरक वा प्रदर्शक सदस्यले त्यस्ता चलचित्रहरु वितरण तथा प्रदर्शन गरेमा नेपाल चलचित्र संघले आवश्यक कारबाही गर्ने छ र नेपाल चलचित्र निर्माता संघले समर्थन गर्ने छ ।

८.  नेपाल चलचित्र संघ र नेपाल चलचित्र निर्माता संघका बीचमा विभिन्न समयमा भएका सहमती र संझौताहरु कार्यन्वयन गर्नका लागि दुबै संघका ३–३ जना गरि ६ जनाको एक कार्यदल गठन गरिने छ ।

९.  दुबै संघका विचमा विभिन्न मितिमा भएका सहमती र संझौताहरु कार्यान्वयन गर्ने क्रममा कुनै विवाद वा असहज परिस्थिती श्रृजना भई संशोधन गर्न परेमा सो को जानकारी दुबै संघमा एक महिना पहिले गर्नु पर्नेछ ।

१०. यो संझौता मिति २०७१ साल मंसिर २८ गतेदेखि लागू हुनेछ ।

११.  माथि उल्लेखित संझौताका शर्तहरु दुबै संघले पालना गर्ने छौ ।

For More videos Log on to Mazzako TV