हङकङमा सम्झौता विपरित ‘कोहिनूर’ शो; विवाद मिलाइदिन निर्माता संघलाई आग्रह
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक २७–
हङकङमा सम्झौता विपरित थप शो सञ्चालन गर्ने गरी प्रचार प्रसार गरेपछि ‘कोहिनूर’ फिल्मका निर्माता चन्द्र प्रसाद श्रेष्ठले शो रोकि विवाद समाधानका लागि चलचित्र निर्माता संघमा निवेदन दर्ता गराएका छन् । निर्माता श्रेष्ठको निवेदन बुझ्दै अध्यक्ष राजकुमार राईले सम्झौता विपरित ‘कोहिनूर’ को थप शो हङकङमा नगर्न संस्थागत पत्र सम्बन्धित पक्षलाई पठाउने वाचा गरे ।
नेपाः मुभिज प्रा.लिको प्रतिनिधित्व गर्दै निर्माता चन्द्र प्रसाद श्रेष्ठले निर्माता संघमा दर्ता गराएको निवेदनमा भनिएको छ ‘यस नेपाः मुभिज प्रा.लिको ब्यानरमा निर्मित सफल चलचित्र ‘कोहिनूर’ हङकङमा एक शो प्रदर्शनको लागि मिति १७ सेप्टेम्बर २०१४ मा निर्मली डाँडा ८ खोटाङ् स्थायी ठेगाना भएको श्री जितेन्द्र राईसँग YUEN LONG THEATER, YUEN LONG, HOGKONG मा शो २६ अक्टोवर २०१४ मा प्रदर्शन गर्ने शर्तमा सम्झौता भएको व्याहोरा अनुरोध गर्न चाहान्छु । प्रथम शो २६ अक्टोवरमा भव्य सफलताका साथ प्रदर्शन भएको ब्यहोरा संचार माध्यमबाट सुनियो र पुनः अर्को शो नोभेम्वर १६, २०१४ मा हुनेछ भनी प्रचार गरिएको रहेछ ।
उहाँहरुसँग एक शोको सम्झौता भएको कारण अर्को शोको लागि नोभेम्वर १६, २०१४ को लागि बुटवल रुपन्देही बस्ने निर्मल कार्कीसँग मिति २८, अक्टोवर २०१४ मा सम्झौता भएको हो । तर प्रथम शो गर्ने जितेन्द्र राईले २६ अक्टोवर २०१४ अगाडीदेखि दोश्रो शो गर्ने पक्षले प्रचार प्रसार गरि घाटा बनाएको हुनाले कि त घाटा निर्माण पक्षले ब्याहोर्न होइन भने जर्बजस्ती गरेर भएपनि नोभेम्वर १६ मा नै दोश्रो शो देखाई छाड्ने भनि विवाद श्रृजना गरि प्रचार प्रसार गरिएको प्रमाण प्राप्त हुन आएकोले विवाद समाधान पहल गरिदिनु हुन विनम्र अनुरोध गर्दछु ।’
स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ ले नेपालमा ऐतिहासिक व्यापार गर्न सफल भएको थियो । स्व.श्रीकृष्ण र पत्नी अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् । ‘कोहिनूर’ को विदेशमा प्रदर्शनको माग व्यापक बढ्दो छ ।
For More videos Log on to Mazzako TV