‘चकलेट’ को अन्तिम छायांकनका दिन, पुजनाले ‘हद भन्दा बढी माया गर्छु’ भनिन्
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १९–
निर्मल शर्मा ‘गैंडा’ को डेब्यु निर्देशन रहेको चलचित्र ‘चकलेट’ को छायांकन सकिएको छ । ‘हद भन्दा बढि माया गर्छु’ बोलको गीतसंगै चलचित्रको छायांकन सकिएको हो ।
चलचित्रको अन्त्यमा छायांकन गरिएको उक्त गीतमा अभिनेत्री पूजना स्त्री र आयुष्मान घिमिरे जोडीका रुपमा देखिँदै छन् । प्रशन्न पौडेलले निर्देशन गरेको उक्त गीतमा पूजनाले आयुष्मानसंग आफ्ना मनका भावना साटेको बताइएको छ । शिखर सन्तोषको संगीत र आनन्द अधिकारीको शब्द रहेको उक्त रोमान्टिक गीतमा मिलन अमात्य र विश्व नेपालीले स्वर दिएका छन् ।
सडक बालबालिकाको कथामा बनेको ‘चकलेट’ को उक्त गीतको सुटिङ पोखरामा गरिएको हो । यो गीतको सुटिङ सकिएसंगै चलचित्रको छायांकन पनि सकिएकाले अब पोष्ट प्रोडक्सनको काम धमाधम चल्ने निर्देशक शर्माले जानकारी दिए ।
पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेको यो फिल्ममा पूजना र आयुष्मानको साथमा अनुज शाक्य, नम्रता झा, केशव भट्टराई, सुमन गैरेसहित आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ ।
For More videos Log on to Mazzako TV