गरियो ‘सरी ल’ को प्रिमियर शो, सबैले भने चलचित्र राम्रो हो
मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १६–
ऋषि लामिछानेद्वारा निर्देशित चलचित्र ‘सरी ल’ को आज राजधानीस्थित बिग मुभिजमा प्रिमियर शो गरिएको छ । आउँदो शुक्रबार कार्तिक २१ गतेदेखि यो चलचित्र देशभर प्रदर्शनमा आउँदैछ ।
प्रिमियर शोमा फिल्म युनिटसँगै, संचारकर्मी र चलचित्रकर्मीहरुले चलचित्र हेरेका थिए । चलचित्र हेरेपछि अधिकांशले चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका थिए ।
यस चलचित्रमा सुवास थापा, राजन खतिवडा र अनिता आचार्यको मुख्य अभिनय रहेको छ । कलाकार मार्टिन खानलाई भने खलपात्रको रुपमा देख्न सकिन्छ । ग्ल्यामहन्ट नामक फेसन शो की विजेता अनिताको ‘सरी ल’ पहिलो फिल्म हो ।
अञ्जु केसीको प्रस्तुती एंव कृष्णबहादुर महर्जनको लगानी रहेको फिल्म ‘सरी ल’ मा शैलेश श्रेष्ठको संगीत छ । द्धन्द्ध निर्देशन रोशन श्रेष्ठले गरेका छन् । प्रस्तुतकर्ता केसी स्वयम्को कथा हो ।
कस्तो चलचित्र हो ‘सरी ल’ ?
सामाजिक सञ्जाल फेसबुकले स्थापित गर्ने प्रेम अनि त्यसको परिणामको विषयहरु समेटेर तयार परिएको चलचित्र हो ‘सरी ल’ । यस चलचित्रमा एक जना अनिक (सुवास थापा) नामका पात्र छन् जसले मोडलिङमा आफुलाई स्थापित गराउन संघर्ष गरिरहेका हुन्छन् । उनकै घनिष्ठ साथी हुन्छन् सत्कार (राजन खतिवडा) जो मेकअप आर्टिस्टका रुपमा अघि बढ्न खोजिरहेका हुन्छन् । सत्कारको सम्बन्ध अनिकको परिवारसँग पनि निकटको हुन्छ । सत्कारको बानी भने अनिकको भन्दा फरक हुन्छ । सत्कार अन्र्तमुखी स्वभावको हुन्छ ।
एउटा दुर्घटनाले सत्कारको जिन्दगीमा ठुलै फेरवदल आउँछ । त्यस पश्चात् सत्कार हेलाको पात्र बन्छ । सबैतिरबाट हेलाको पात्र बनेको सत्कारमा बदलाको भाव पलाउँछ । ऊ आफ्नै हितैषीको भाईको अपरहण गर्न पनि पछि पर्दैन । हितैषीलाई समेत चक्कु प्रहार गर्न पछि नपर्ने सत्कार किन त्यो हदसम्म पुग्छ ? दुई साथीबिच झगडाको कारण के हो ? सामाजिक सञ्जाल फेसबुकको प्रयोगले कस्तो प्रभाव पारिरहेको छ ? यी प्रश्नको उत्तर पाउन कार्तिक २१ गते फिल्म ‘सरी ल’ हेर्न हलसम्म जानु पर्ने हुन्छ । जाने होइन त ?