मज्जाको अनलाईन समाचार, काठमाण्डौ, कार्तिक १५–
पहिलोपटक दक्षिण भारतिय चलचित्रका फिल्ममेकरले ले नेपाली फिल्म ‘बागमती’ बनाएका छन् । दक्षिण भारतीय चलचित्रका निर्देशक सन्नी (केरला) को लेखन तथा निर्देशन रहेको ‘बागमती’ को आज राजधानीमा इन्ड क्ल्याप गरिएको हो ।

ट्रि इन्टरटेन्मेन्ट प्रा. लि. को ब्यानरमा निर्माण भएको ‘बागमती दि रिभ्युलेशनरी मूभी’ को छायांकन ४५ दिन लगाएर सकिएको कार्यक्रममा बताइयो । यस चलचित्रमा राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, ध्रुव कोइराला र केकी अधिकारीको मुख्य अभिनय रहेको छ । नवप्रतिभाका रुपमा भने रविकार घिमिरे र श्रेया कार्कीको अभिनय रहेको छ ।

Bagmati-press-meet

नेपाली चलचित्र क्षेत्रमा अहिलेसम्मकै महंगो बजेटमा यस चलचित्रको निर्माण भएको चलचित्रका प्रस्तुतकर्ता विजय सत्यालले कार्यक्रममा दाबी गरे । ‘चलचित्रको पुरा काम नसकिएकाले चलचित्रको पुर्ण लागत खर्च अहिले नै भन्न सकिँदैन ’, सत्यालले भने– ‘तर यति नेपाली चलचित्रहरु दुई करोड सम्ममा बनेका छन् भने हाम्रो लागत त्यो भन्दा पनि माथि हो । ’ ‘बागमती’ अहिलेसम्मकै सर्वाधिक लागतमा बनेको नेपाली चलचित्र बन्ने उनको भनाईको आशय थियो ।

यस चलचित्रमा छायाँकार र अन्य प्राविधिकहरु पनि दक्षिण भारतबाटै ल्याइएका हुन् । ‘चलचित्रको सुटिङमा चाहिने क्यामेरा, लेन्स, ट्रली लगायतका प्राविधिक सामग्री पनि दक्षिण भारतबाटै मगाइएको हो’, चलचित्रका अर्का प्रस्तुतकर्ता दिनेश दर्शनधारीले बताए ।

बागमती ‘डकुमेन्ट्री’ हो भन्ने भ्रम पनि बजारमा फैलिएको छ । ‘तर यसले एउटा बागमतीझै पवित्र पात्रको कथा बोलेको छ जो समय र परिवेशका कारण विकृत र विसंगतयुक्त हुन पुगेतापनि आफ्नो उद्धेश्यमा सधै पवित्र नै हुन्छ ’, कार्यक्रममा सहभागी चलचित्रको मुख्य कलाकार राजेश हमालले भने । उनले यस चलचित्रमा ‘बागमती’ लाई ‘मेटाफोर’ को रुपमा प्रयोग गरिएको पनि स्पष्ट पारे ।

Rajesh-hamal

यता चलचित्रकी नायिका केकी अधिकारीले दक्षिण भारतीय चलचित्रका फिल्ममेकरहरुसंग काम गर्न पाउनु आफ्नो लागी गौरवको कुरा रहेको बताइन् । ‘शुरुमा नेपाली भाषा पनि बोल्न नजान्नेले कसरी निर्देशन गर्नुहोला भन्ने लाग्थ्यो’, उनले भनिन्– ‘तर वँहाको कार्यशैली देखेपछि विश्वमा धेरै भाषा भएपनि चलचित्रको एउटै भाषा हुँदोरहेछ भन्नेमा म विश्वस्त भए ।’

यसैगरी निर्देशक सन्नीले नेपाली दर्शकहरुलाई बुझेर आफुले चलचित्र बनाउने प्रयास गरेको बताए । ‘नेपाली कलाकारहरु ट्यालेन्ट हुन्छन भन्ने सुनेको थिए तर यो चलचित्रमा काम गर्न पाएपछि विश्वस्त भए’, उनले सुनाए ।

दक्षिण भारतीय चलचित्रका छायांकर सिजु गुरुभयुरले खिचेको यस चलचित्र पूर्ण मनोरञ्जनात्मक, पारिवारिक र सन्देशमूलक रहने बताइएको छ । यशोदा राई, सुवर्ण महर्जन, अन्जना भारी सत्याल, सरस्वती दर्शनधारी र आयुसा दर्शनधारीको यस चलचित्रमा सँयुक्त लगानी रहेको छ ।

पछिल्लो समय विश्वकै ठूलो सिनेमा उद्योग बलिउडले पनि दक्षिण भारतीय सिनेमाको अनुशरण गर्दै आइरहेको छ । त्यसैले पनि माघे संक्रान्तिको अवसरमा प्रदशर्न गर्ने लक्ष्य राखिएको यस चलचित्र प्रतिक्षित बनेको छ ।

For More videos Log on to Mazzako TV