पुर्वमा टलक्क टल्कियो ‘टुल्के’ (फोटो फिचर)
‘टलकजंग भर्सेस टुल्के’ आउँदो शुक्रबार अर्थात कार्तिक १४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । निश्चल बस्नेत निर्देशित यस चलचित्रलाई सिनेमा नगरीमा निकै अपेक्षाको साथमा हेरिएको छ । प्रर्दशनको मिति नजिकिदै गर्दा चलचित्र निर्माण युनिटले पब्लिसिटीमा पनि निकै जोडतोडले लागी परिरहेको देखिन्छ ।
चलचित्र युनिटले पुर्वका विभिन्न ठाँउहरुमा पोष्टर र पम्प्लेट टाँस्दै चलचित्र हेरिदिन दर्शकहरुलाई अनुरोध गरिरहेको छ । चलचित्रको बारेमा दर्शकको अपेक्षा के छ ? भन्ने बिषयमा बुझ्न चलचित्रको एक टोली पुर्वको भ्रमणमा छ । यता, राजधानीमा भने चलचित्र युनिट मिडिया अन्तरक्रियामा निकै ब्यस्त देखिन्छ ।
निश्चलको निर्देशन रहेको चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई रविन्द्रसिंह बानियाँले बनाएका हुन् । षटकोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त ब्यानरमा बनेको यस चलचित्रमा रामकुमार बनिया, रोजिना सिटौला र सिता श्रेष्ठको पनि लगानी रहेको छ ।
चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेले नै चलचित्रको कथा लेखेका हुन् । उनले यसअघि ‘कथा मिठो सारंगीको’ रेडियो नाटक लेखन र निर्देशनको अनुभव संगालेका छन् भने चलचित्र ‘बधशाला’मा अभिनय गरेर पर्दाको अनुभव पनि लिईसकेका छन् ।
चलचित्रका अन्य कलाकारहरुमा दयाहाङ्ग राई, ऋचा शर्मा, शुसांक मैनाली लगायतलाई देख्न पाईन्छ । अधिकांश सुटिङ्ग हेम्जाकोटमा गरिएको यस चलचित्रमा एक साधारण मानिसले आफ्नो गुमेको परिचयलाई स्थापित गराउन गरेको संघर्षलाई देखाउन खोजिएको छ ।