sunil thapa

काठमाडौ, भाद्र १२ – ‘मैले सोचेको पनि थिइनँ कि,’ मुडुलो टाउको र सेतै फ्रेन्चकटमा देखिएका अभिनेता सुनील थापा सुरुमै भावुक भए, ‘लाइफमा यस्तो इमोसनल मोड आउँछ भनेर।’ यसपछि ५७ वर्षीय अभिनेताले देब्रे हातले बिस्तारै अनुहार छोप्न खोज्दै टाउकोतिर लगे, शिर आधा झुकाए। केही समय बोलेनन्। जब शिर उठाएर दर्शकहरूसित आई कन्टयाक्ट गरे, आँखाबाट आँसु बगिरहेको थियो। ‘तपाईंहरूले आज मलाई कम्पिलिट एक्टर बनाउनुभयो।’ यसपछि बल्ल आँसु पुछदै उनले भने, ‘मलाई आज यस्तै लागिरहेको छ।’

नेपाली फिल्म दुनियाँको चर्चित चरित्र ‘राते काइँला’। विशेष गरी नकारात्मक भूमिका गरेर अरूलाई रुवाउने, तडपाउने सुनीलले सयौं नेपाली फिल्म खेले, तर सन् १९८९ मा रिलिज भएको ‘चिनो’ को चरित्र ‘राते काइँला’ सदाबहार नाम बन्यो। अरूलाई रुवाउने उनै राते काइँला बुधबार दरबार मार्गस्थित होटल अन्नपूर्णमा आफैं रोए। हालै आफू अभिनीत बलिउड फिल्म ‘म्यारी कोम’ को म्युजिक लन्चिङ र केही प्रमोसनल क्याम्पेन भ्याएर मुम्बईबाट केही दिनअघि मात्रै फिरेका उनी हिन्दी फिल्ममा पाएको भूमिकाबाट हौसिएर रोएका थिएनन्।

सन् १९८२ मा ‘मसाल’ मार्फत नेपाली फिल्ममा आउनुअघि नै उनले ‘एक दुजे के लिए’, ‘आज की आवाज’, ‘मानव हत्या’ जस्ता हिन्दी फिल्म खेलिसकेका थिए। बुधबार उनलाई बलिउडमा नेपाली परिचय पुर्‍याएबापत फिल्म सम्बद्ध तीन संस्थाले सम्मान कार्यक्रम राखेका थिए। ‘चिनो’ देखि सञ्जयलीला भन्साली निर्मित ‘म्यारी कोम’ सम्मको यात्रा समेटिएको छोटो डकुमेन्ट्रीसमेत हेरेपछि आफ्नो सम्मानमा आएका अभिव्यक्तिबाट उनी भावुक बनेका थिए।

‘फिल्ममा नेगेटिभ रोलहरूको कारणले,’ बलिउडको पछिल्लो अनुभव सुनाउनुअघि उनले आफूले पार गरी आएको नेपाली फिल्मको साढे तीन दशकलाई आत्मसमीक्षा गरे, ‘जहिले पनि सबैले मलाई गुन्डाको रूपमा हेर्ने गर्थे। हलमा धेरै दिदीबहिनीहरूले मलाई गाली गर्थे, सराप्थे।’ फेरि उनले मुडुलो टाउकोको पसिना पुछे अनि माइक मुखछेउ लगे, ‘अति भएपछि मैले एक दिन नजिकका साथीहरूलाई भनें मलाई महिलाहरूले गाली गर्न थाले, लौन के गरूँ।’ उनले सिलसिला जोडे, ‘साथीहरूले त उल्टै यो त तिम्रो सफलता हो, तिम्रो भूमिकाले साँच्चिकै अरूलाई छोएको हो, बधाई पो भने। यसपछि म पनि जेजस्तो छ उस्तै गरी अघि बढें, किनकि मेरो डिक्सनरीमा नो भन्ने शब्द नै थिएन र छैन पनि।’

आफ्नो यही स्वभावसित उनले ‘म्यारी कोम’ फिल्मको सन्दर्भ पनि जोडे। मणिपुर, भारतकी बक्सर म्यारी कोमको जीवनमा आधारित यो स्पोर्ट ड्रामाको प्रस्ताव उनलाई कास्टिङ डाइरेक्टर श्रुति महाजनले गरेकी थिइन्, फोनबाट। उनले सीधै ‘एस’ भने। श्रुतिले उताबाट अडिसनका लागि तीन वटा सिनको स्क्रिप्ट पठाइदिइन् र उनले काठमाडौंमै भिडियो अडिसन दिएर क्लिप्स पठाइदिए। त्यति बेला सञ्जयलीला भन्साली र पि्रयंका चोपडा क्यानडामा थिए, उतैबाट क्लिप्स ओके भएपछि मुम्बईबाट तुरुन्त बोलावट आयो।

‘सुरुमा निर्देशकसँग अन्तरक्रिया र स्क्रिप्ट एनालाइसिस हुँदो रहेछ,’ ओमुङ कुमार निर्देशित फिल्मबारे उनले भने, ‘डाइलगहरू पढ्ने, ती डाइलगहरूको सिचुएसनसित भिज्ने। एक महिना स्क्रिप्टमा बसेपछि फिजिकल टे्रनिङ सुरु भयो, जहाँ प्रियंका र हामी दिनमा बार्‍ह घन्टा काम गथ्र्यौं।’

उनी यसपछि पि्रयंकाको प्रशंसातिर लागे। उनले पि्रयंकासितको काम एकदमै कम्फर्टेबल भएको स्मरण गर्दै अंग्रेजीमा भने, ‘पि्रयंका चोपडा इज पि्रयंका चोपडा। भेरी कोअपरेटिभ एन्ड हार्ड वर्किङ।’ आफ्ना लागि बलिउड खासै नौलो नभए पनि उनले यसलाई नेपाली पहिचानसित जोडे। हिन्दी फिल्महरू खेल्दाखेल्दै नेपाली फिल्ममा आएपछि उनलाई धेरैले प्रश्न गरेका थिए रे, ‘किन त्यत्रो सम्भावनाको मैदान छाडेर साँघुरो कुनातिर?’

‘त्यति बेला मैले भनेको थिएँ, पहिले मलाई नेपाली फिल्म इन्डस्ट्रीको पहिचान पाउनु छ, अनि मात्रै हलिउड बलिउड,’ उनले सुनाए, ‘म साँच्चिकै जिद्दी छु। र, मलाई हमेसा आँटेपछि जे पनि सक्छु जस्तो लाग्छ। एक दिन दौरा सुरुवाल लाएर ओस्कार अवार्ड चुम्ने मेरो दृढ सपना छ।’

दृढता र जिद्दीकै क्रममा उनले ‘चिनो’ को एउटा ‘सन्की घटना’ सुनाए। ‘एउटा फाइटको दृश्यमा मेरो औंला भाँचियो, द्वन्द्व निर्देशक युवराज लामाले हस्पिटल लगेर ब्यान्डेज लाउन लाए,’ उनले सुनाए, ‘तर म ठीक भयो भन्दै झुक्याएर दिउँसो ब्यान्डेज खोलेर सुटिङमा जान्थें अनि साँझ आएर लाउँथें। किनभने बम्बईबाट मेरो छोरो जन्मेको खबर आएको थियो र मलाई फिल्म छिटो सिध्याउनु थियो। यति गर्दा पनि जन्मेको ४३ दिनपछि मात्रै मैले छोरोको अनुहार हेर्न पाएँ।’

मुम्बईमै स्थायी बसोबास गर्दै आएको परिवारको प्रसंग निक्लेपछि फेरि भावुक बनेका सुनील तत्काल फिल्मकै सन्दर्भमा फर्के। ‘यहाँ म ‘म्यारी कोम’ को प्रमोसनको लागि उभिएको हैन,’ उनले भने, ‘म आज जे छु, नेपाली फिल्म उद्योगकै कारण छु। यो उद्योग मेरो लागि पशुपतिनाथ हो, पूजा गर्छु।’

यसपछि उनले ‘म्यारी कोम’ को प्रमोसनल क्याम्पेनको एउटा तीतो घटना सुनाए। केहीअघि कलर्स टीभीको ‘कमेडी नाइटस विद कपिल’ मा नायिका पि्रयंका र निर्देशक ओमुङ मात्रै देखिएका थिए। ‘कार्यक्रममा रोचकता थप्न म र पि्रयंकाको बूढाको रोलमा खेल्ने कलाकारचाहिँ स्टेजको ढोकाबाट नभई दर्शकदीर्घाबाट प्रवेश गराउने प्रस्ताव आयो कपिल शर्माबाट,’ उनले सुनाए, ‘मैले हुन्न भनें, किनभने मलाई त्यो मेरो र नेपाली उद्योगको सम्मान हो जस्तो लागेन। त्यस कारण मैले शोलाई नै नकारें।’

यति धेरै कुरा भइरहँदा उनी दर्शकदीर्घामा बसेका आफ्ना समकालीनहरूको नाम बारम्बार लिइरहेका पनि थिए। ‘हयाप्पिनेस प|mम सक्सेस’ शीर्षकमा मौरी इन्टरटेनमेन्ट, नेफ्टा, श्री बालाजी फिल्म्स र क्रिएटिभ ग्रुपद्वारा आयोजित कार्यक्रममा स्टेज चढ्नुअघि नै सुनीलका समकालीनदेखि निकटस्थ तन्नेरीसम्मले एकएक वाक्यमा सुनीलबारे बोलेका थिए। सुनीलसँगै पहिलो हिरोइनका रूपमा काम गरेकी करिश्माले ‘म उसलाई सधैं बच्चा देख्छु, सधैं विनम्र, जहिले भेटदा पनि माया दिने’ भनिन्। गौरी मल्लले उनलाई ‘कलाकारभन्दा पनि राम्रो साथी’ बताउँदै ‘आई लभ यु, सुनील’ भनिन्। युवराज लामाले ‘चिनो’ मा सुनीलले बोलेकै डाइलगको पारामा ‘नेपालको मात्रै हैन, अब ऊ भारतको पनि राते काइँला हो, मलाई यो कुरा मन पर्‍यो’ भने। निर्माता उद्धव पौडेलले ‘ऊ आफैंमा एउटा सिनेमा हो, सिनेमालाई चाहिने सबै थोक ऊसँग छ’ भनिरहेका बेला सुनीलका साथी पर्यटन बोर्डका सीईओ सुवास निरौलाले ‘ऊ अब संसारको लागि नेपालको ब्रान्ड एम्बासडर’ दाबी गर्न भ्याएका थिए। १५ जना जतिलाई बोल्न लाएपछि कार्यक्रमका होस्ट राजेन्द्र शलभले सबैलाई समेटे, ‘एउटा असल मान्छे।’

यो सब मुसुमुसु हाँस्दै सुनिरहेका राते काइँलाले भने स्टेजबाट करिश्माको भनाइलाई बढी नै ख्याल गरेझैं दोहोरी फयाँके, ‘हो, म बच्चै छु। फुलेको दाह्रीजुँगा फयाँकिदिने हो भने म रियल्ली योङ देखिन्छु। करिश्मा जस्तै।’

आँसुबाट सुरु भएको सिलसिलालाई सुनीलले हाँसोमा टुंग्याइदिए।

साभार : तस्बिर र समाचार,  फूलमान वल –कान्तिपुर दैनिक

 

For More videos Log on to Mazzako TV