प्रज्ञा प्रतिष्ठानमा स्वं. श्रीकृष्ण श्रेष्ठको शालिक राख्न माग
मज्जाको अनलाईन, २०७१ भदौ ६ गते
विहिबार स्वं. श्रीकृष्णको १३ दिनको पुण्य तिथि परेको थियो । १३ औं दिनको पुण्य तिथिमा आयोजित प्रसाद ग्रहण कार्यक्रममा चलचित्रकर्मीले स्वं. नायक श्रेष्ठको पुर्ण कदको शालिक निर्माण गर्नुपर्ने सरकारसँग माग गरेका छन् । समवेदना प्रकट गर्न नयाँ बजार पुगेका सञ्चारमन्त्री मिनेन्द्र रिजाल समक्ष घरपरिवार र चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाहरुले प्रज्ञा प्रतिष्ठानमा श्रीको शालिक निर्माणको लागि ठाँउ उपलब्ध गराईदिन अनुरोध गरे ।
‘सरकारले स्पेश मात्रै दिएपनि पुग्छ, शालिक हामी आफ्नो हिसाबले बनाउन तयार छौ’, स्वं.श्रीकृष्णका दाजु मिनकृष्णले भने ‘श्रीलाई पछि सम्म पनि नेपालीहरुले सम्झिईरहने थिए, स्वेता बहिनीको पनि यही इच्छा छ कि प्रज्ञा पतिष्ठानमै जागिरे जीवन बिताएको मेरो भाईको शालिक प्रतिष्ठानमै बनोस’ । यता, सञ्चारमन्त्रीले पनि श्रीको शालिक निर्माणका लागि आफुले सक्दो प्रयास गर्ने सकारात्मक प्रतिक्रिया दिएका छन् । त्यस्तै, श्रीका भिनाजु तथा कोहिनूर फिल्मका निर्माता समेत रहेका चन्द्र प्रसाद श्रेष्ठले श्रीको नाममा अक्षय कोष खडा गरेर केही सामाजिक कामहरु गर्ने योजना रहेको पनि सञ्चारकर्मीहरुलाई बताए ।
श्रीकृष्णसँगको आफ्ना जीवनका पलहरु कलाकारहरुले सुनाईरहदा स्वेताको आँखामा आशु थामिएन । उपस्थित सबैको आँखामा आशू भरिएको देखिन्थ्यो । बरिष्ठ चलचित्रकर्मी नीर शाहले श्रीकृष्णको निधनले नेपाली फिल्म उद्योगमा ठुलो क्षति पुगेको बताए । श्रीसँग सबैभन्दा धेरै चलचित्रमा काम गरेकी नायिका झरना थापाले श्रीकृष्ण आफ्नो मनबाट कहिल्यै नहट्ने बताईन । सञ्चारकर्मी प्रकाश सुवेदीले अबदेखि स्वेतालाई सबैले ‘स्वेताश्री’ भनेर बोलाउन अनुरोध गरे । उनले भने ‘मैले श्रीको रुप स्वेतामा देख्छु, त्यसैले अबदेखि म मेरा सबै कार्यक्रमहरुमा श्वेतालाई श्वेताश्री भनेर सम्बोधन गर्छु’ ।
१३ दिने पुण्य तिथिको शोक सभा तथा श्रदाञ्जली कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका अधिकांश कलाकारहरुको उपस्थिति रहेको थियो । राजेश हमाल, करिश्मा मानन्धर, गौरी मल्ल, मेलिना मानन्धर, सुनिल थापा, रमेश उप्रेती, राजेन्द्र खड्गी, दिपकराज गिरी, दिपाश्री निरौला, छविराज ओझा लगायत पुराना देखि नयाँ कलाकारहरु तथा पत्रकारहरुको बाक्लो उपस्थ्तिी रहेको देखिन्थ्यो । कार्यक्रममा स्वं.श्रीकृष्ण पत्नी स्वेता, घरपरिवार, आफन्त तथा श्रीकी बृद्व आमाको पनि उपस्थ्तिी रहेको थियो । नायक श्रीको श्रावण २४ गते दिल्लीस्थित गंगाराम अस्पतालमा बोन क्यान्सरका कारण निधन भएको थियो ।
For More videos Log on to Mazzako TV