‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’, दिने समिक्षक, पाउने को ?
नेपाल चलचित्र समीक्षक समाजले ‘नेपाल फिल्म क्रिटिक्स अवार्ड’ आयोजना गर्ने भएको छ । २०७० सालमा रिलिज भएका नेपाली फिल्महरुलाई मूल्यांकन गरी सात विधामा अवार्ड दिइनेछ ।
काठमाडौंमा अध्यक्ष यज्ञशको नेतृत्वमा सोमबार बसेको समीक्षक समाजको बैठकले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट छायांकन र उत्कृष्ट सम्पादन विधाहरुमा अवार्ड दिने निर्णय गरेको छ ।
सर्वप्रथम २०७० सालमा रिलिज भएका फिल्ममध्येबाट ‘सर्ट लिस्ट’ बनाईनेछ । त्यसपछि सर्टलिष्टमा पर्न सफल फिल्महरु मध्येबाट उत्कृष्ट छनौट गरिनेछ । ‘सर्ट लिस्ट’ तयार पार्नका लागि दीपेन्द्र लामाको संयोजकत्वमा पुनम महर्जन र विष्णु शर्मा सदस्य रहेको छनोट समिति गठन गरिएको छ ।
‘सर्ट लिस्ट’मा परेका फिल्महरु समीक्षक समाजका सबै सदस्यले हेर्ने छन् । फिल्म हेरेका सदस्यहरुको मतदानका आधारमा विजेता छनौट गरिनेछ । समाजले विजेताको सूची आगामी असार १ का दिन पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जानकारी गराएको छ ।
उत्कृष्टहरुको सूची सार्वजनिक भएको केही दिनपछि विजेतालाई ट्रफी तथा प्रमाणपत्र हस्तान्तरण गरिनेछ । फिल्म मूल्यांकनका मापदण्डहरु जुरी संयोजक अनुप सुवेदीले तयार पार्नेछन् । समाजले हरेक वर्ष अवार्डलाई निरन्तरता दिने योजना रहेको जानकारी गराएको छ ।
तस्वीर– मेरो सिनेमा डट कम
For More videos Log on to Mazzako TV