गुरिल्ला शैलीमा हमालको विहे, धुलिखेलमै हनिमुन मनाउने भए
लाग्छ, जेठ १४ सँग डराए राजेश हमाल, त्यसैले १० गते नै गरे विहेको धमाल । यसअघि १४ गते नै हमालको विहे हुने सम्भावना रहेको भनेर समाचारहरु पनि नआएका होईनन् । धेरै जनाको अनुमान पनि त्यही नै थियो । तर रातारात हमालले विहेको मिति अलि अघि सारे ।
बुढेसकालमा हमाललाई निकै हतारो भएको हो कि भन्ने पनि अनुमान काट्न सकिन्छ । किनकी गोप्य रुपमा, आफन्त र मिल्ने साथीहरु बाहेक कसैलाई पनि थाहै नदिई छापामार शैलीमा हमालले प्रेमिका मधु भट्टराईको सिउँदोमा सिन्दुर भरेका छन् ।
फिल्म उद्योगका ‘शंकर’ले शंकर होटलमा मधुलाई विहेको प्रस्ताव राखेका थिए भने विहे अन्नपुर्ण होटलमा गरेका छन् । होटलमा विहे हुदैछ भन्ने थाहा पाएर समाचार संकलन गर्न गएका पत्रकारलाई पनि विहे समारोहमा प्रवेश निषेध गरियो । लगभग ३ घण्टाको प्रतिक्षा पछि मात्रै हमालको विहेको फोटो खिच्न पत्रकारहरुलाई अनुमति दिईएको थियो ।
निकै उच्च सुरक्षा ब्यबस्थामा हमालको विहे सम्पन्न भएको छ । बैवाहिक कार्यक्रमा १२ बजेदेखि शुरु भएको थियो । विहेमा हमाल निकै बोल्ड देखिएका थिए । उनी ढाका टोपी, कोट तथा दौरा सुरुवालमा निकै आर्कषक देखिन्थे ।
आफ्नो ९ बर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न पाउदा हमाल निकै खुशी देखिएका थिए । यता मधु पनि श्रीमानको रुपमा हमाललाई पाउदा दंग छिन् ।
हमालको सुहागरात भने द्वारिका रिसोर्ट धुलिखेलमा हुनेछ । हमालका दिदी भिनाजुले द्वारिका रिसोर्टमा हमाल र मधुको लागि होटल बुक गरेका छन् ।
हमालले जेठ १४ गते भने विहेको पार्टी दिदैछन् । पार्टीमा ५०० जना भन्दा बढीलाई निम्तो गरिएको छ ।