चलचित्र पत्रकारीता दिवसको सत्कार, दिईयो सम्मान तथा पुरस्कार
जेठ ७ गतेको दिनलाई चलचित्र पत्रकार संघले पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको छ । सोही बमोजिम आज (बुधबार) राजधानीमा चलचित्र पत्रकारिता पुरस्कार र सम्मान कार्यक्रमको आयोजना गर्दै सघले आफ्नो १५ औं बार्षिक उत्सब मनाएको छ ।
चलचित्र पत्रकारिता दिवसको उपलक्ष्यमा आयोजित सम्मान कार्यक्रममा नेपाल समाचार पत्रका र ‘कामना’ मासिकका रंग पत्रकार विदुर गिरी सम्मानित भएका छन् । त्यस्तै चलचित्र पत्रकारिता पुरस्कार कान्तिपुर साप्ताहिकका कृष्ण भट्टराई र स्टार एफ एमका राज श्रेष्ठलाई प्रदान गरिएको छ ।
सम्मानित रंगपत्रकारहरुलाई दोसल्ला ओडाएर ट्रफी, सम्मान पत्र, नेपाली टोपी र गिफ्ट ह्याम्परहरुबाट सम्मान गरिएको हो । पुरस्कृत भट्टराई र श्रेष्ठलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँ पनि प्रदान गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कार र सम्मानबाट सम्मानित पत्रकारहरुलाई भुवन चन्द, बसुन्धरा भुषाल, चैत्यदेवी लगायत चलचित्रसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
भर्खरै सम्पन्न नेपाल चलचित्र पत्रकार महासंघ निर्वाचनबाट सचिव पदमा विजयी ध्रुव लम्साललाई पनि चलचित्र पत्रकार संघले सम्मान गर्यो । चलचित्र संघको १५ औं वार्षिक उत्सवको अवसरमा वर्तमान अध्यक्ष शान्ति प्रिय, संस्थापक अध्यक्ष भरत शाक्य र नि:वर्तमान अध्यक्ष विदुर गिरीले संयुक्त रुपमा केक समेत काटे ।
त्यस्तै पत्रकार संघको नयाँ वेभसाईट र क्यालेन्डर पनि सार्वजनिक गरिएको छ । संघको नयाँ बेभसाईटमा संघको गतिविधि र चलचित्र पत्रकारहरुको सबै जानकारी राखिने बताईएको छ । बागबजारस्थित सिने म्याक्स हलमा आयोजना भएको कार्यक्रममा विभिन्न फिल्म सम्वद्ध संस्थाका प्रतिनिधि, फिल्मकर्मी एवं पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो ।