आर्यन सिग्देललाई रातारात स्टारडम दिलाउने फिल्म ‘मेरो एउटा साथी छ’मा दयाहाङ राई आर्यनकै झापड खाने सानो कमेडी रोलमा थिए । आर्यनको मुख्य भूमिका रहेको ‘मेरो लभ स्टोरीमा’ पनि राई हँसाउने दुई–तीन दृश्यमा सीमित थिए ।

पाँच वर्ष नपुग्दै यो समीकरण बद्लियो । गत वर्ष रिलिज भएको ‘लोफर’का दयाहाङ मुख्य अभिनेतामा देखिँदा आर्यन सहायक भूमिकामा थिए । २०७१ सालको सुरुवातमै दयाहाङ र आर्यनका फिल्म एकसाथ रिलिज हुँदा दयाहाङ अभिनित ‘कबड्डी’ पैसा र दर्शकको मन जित्न आर्यनको ‘नोभेम्बर रेन’भन्दा अगाडि रह्यो । सानोतिनो कमेडी भूमिका हुँदै ‘ब्लकबस्टर’ अभिनेताका रूपमा दयाहाङको सफलताले नेपाली फिल्ममा हिरो, नायक वा अभिनेताको बद्लिँदो भूमिकालाई चित्रित गर्छ ।

दयाहाङमात्र होइन, पछिल्लो समय उदाएका सौगात मल्ल, विल्सनविक्रम राई, दीपकराज गिरी लगायतको सफलताले नेपाली फिल्ममा नायकको परम्परागत छविलाई विस्थापित गर्दै गइरहेको छ । फिल्मको पोस्टरमा निश्चित हिरोको ठूलो टाउको राखेर व्यापारको ‘मिनिमम ग्यारेन्टी’ सुरक्षित गर्ने निर्माताको तरिका चल्न छाडेको छ ।

गोरो छाला, चकलेटी अनुहार, वलिष्ठ ज्यान र उचाइ– हिजोका दिनमा नायकका लागि अनिवार्य गुण थिए । दयाहाङ र विल्सनविक्रम यस्ता नायकका लागि चाहिने परम्परागत विशेषताभन्दा फरक थिए, तर तिनै अवगुणलाई यिनैले गुणमा बदलेका छन् । दयाहाङ कहिले भुँडी देखाएर दर्शक अलल्याउँछन् त कहिले भद्दा जिउज्यानका काजीका रूपमा दर्शक कज्याउँछन् । ‘सायद’मा वन लाइनरले दर्शक हँसाउने विल्सनविक्रम ‘रिदम’मा देशप्रेमी अपांगका रूपमा पनि उत्तिकै सशक्त लाग्छन् ।

दायाहाङ र विल्सनको सफलताले नेपाली फिल्ममा हिरो बन्न आर्यन अनुहार नै चाहिन्छ भन्ने ‘हेजिमोनी’ पनि तोडेको छ । मंगोल अनुहारका यी अभिनेताको सफलताले नेपाली फिल्म बिस्तारै समावेशी बन्ने बाटोमा अग्रसर देखिन्छ । उनीहरूको सफलताले हिन्दुइतर संस्कृतिका कथाले पनि पर्दामा अवसर पाएका छन् ।

नेपाली समाज हिन्दु धर्म, संस्कृति र संस्कारमा आधारित भएकाले यहाँका कलामा पनि यसको प्रभाव सदाकाल रह्यो । रामायण र महाभारत पात्र समाजका आदर्श भने । पुरुष भए मर्यादा पुरुषोत्तम राम र महिला भए सीता बन्नुपर्ने समाजको बाध्यताबीच कलाका सम्पूर्ण विधा अगाडि बढे । नेपाली फिल्म पनि यस्तो प्रवृत्तिमा अपवाद रहेन । फिल्म निर्माणको परम्परा त्यतिबेलाको शासन व्यवस्थालाई बलियो बनाउन सुरु गरिए पनि फिल्ममा नायकको भूमिका रामको चरित्रबाट प्रभावित रह्यो । सौतेनी आमाको वचन खेर जान नदिन रामले १४ वर्षको वनबास स्वीकारेझैं नायक पनि समाज र देशका लागि जेसुकै त्याग गर्न तत्पर रहे ।

संयोगले हिरो हुन पाएका शिवशंकर मानन्धरले यही प्रवृत्तिका साथ नेपाली फिल्ममा नायकको यात्रा सुरु गरे । राजदरबारका महत्वपूर्ण दैनिकी खिच्न भारतबाट झिकाइएका हिरासिंह खत्रीले ‘आमा’ बनाउन लाग्दा फिल्मको नायकका रूपमा हमाल थरका कुनै नेपालीलाई काठमाडौं ल्याएका थिए । तर भनेको बेला सुटिङ सुरु नभएपछि तिनले आफूलाई ‘होमसिक’ भएको भन्दै फिल्म गर्न इन्कार गरे । त्यसपछि गीत रेकर्ड गर्न कलकत्ता पुगेका शिवशंकरलाई फिल्म खेल्ने प्रस्ताव गरियो । तिनै शिवशंकर पहिलो नेपाली फिल्मका नायक बने ।

पञ्चायत व्यवस्था भर्खरै सुरु भएकाले ‘आमा’ त्यही व्यवस्थाको पृष्ठपोषणका लागि बनाइएको फिल्म थियो । जिम्वालले आफ्नो घरखेत कब्जा गरेपछि सानो उमेरमा भारत जान बाध्य शिवशंकर लाहुरबाट आमा भेटन् नेपाल फर्कन्छन्, तर आमाको मृत्यु भइसकेको छ । आमालाई भेट्न आउँदा आमा नै नभएपछि देशमा बस्नुपर्ने कारण देख्दैनन् उनी । तर गाउँलेले देशलाई नै आमा मानेर सेवा गर्न आँखा खोलिदिएपछि उनी ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने पञ्चायत मन्त्र बोकेर गाउँको विकासमा सक्रिय बन्छन् ।

निहित उद्देश्यका लागि निर्मित ‘आमा’मा कलात्मक पक्षभन्दा सन्देश बढी थियो । तर पौराणिक ग्रन्थमा नायकहरूको जुन गुणको वर्णन गरिन्थ्यो, त्योभन्दा पृथक थिएन शिवशंकरको भूमिका ।

नेपाली फिल्म निर्माण सुरुवातदेखि नै सूत्रात्मक थियो । नायक–नायिकाको सुखी संसार, खलनायकको प्रवेश, नायक–खलनायक भिडन्त र अन्तमा नायकको जित । नेपाली फिल्म यिनै सूत्रलाई तलमाथि गर्दै अगाडि बढ्यो र फरक कालखण्डमा आएका नेपाली नायकले पनि उस्तै संरचनामा आफ्नो अभिनय यात्रा जारी राखे ।

शिवशंकरले सुरु गरेको नायकत्वको परम्परालाई विश्व बस्नेतले ‘कुमारी’, ‘सिन्दुर’ र ‘अन्याय’मार्फत निरन्तरता दिए । बस्नेत नृत्यमा तुलनात्मक कमजोर थिए । त्यसबाहेक उनमा नायक हुनका लागि चाहिने सबै गुण उपलब्ध थिए ।

बस्नेतको नृत्यको कमी पूरा गर्ने गरी ‘जीवनरेखा’मार्फत उदाए शिव श्रेष्ठ । विराटनगरमा क्यारेमबोर्ड खेल्दाखेल्दै भेटेको प्रकाश थापाले उनलाई पहिलो फिल्मबाटै सुपरस्टार बनाइदिए । शाही नेपाल चलचित्र संस्थानले बनाएका १२ फिल्ममध्ये ‘जीवनरेखा’ सबैभन्दा सफल मानियो र त्योसँगै श्रेष्ठको अभिनय यात्रा पाकिस्तान र बंगलादेशसम्म फैलियो । उनले २३ पाकिस्तानी फिल्ममा अभिनय गरे । केही नेपाल–बंगलादेश र पाकिस्तानी सहकार्यमा बनेका फिल्ममा पनि कौशल देखाए । ओजिला संवाद बोल्ने श्रेष्ठ नृत्य र द्वन्द्वमा पनि अब्बल ठहरिए ।

श्रेष्ठ आएको दुई वर्षपछि मृदु मुस्कानको विशेषताका साथ झुल्किए, भुवन केसी । रेडियो नेपालमा गायकका रूपमा ख्याति कमाउँदै गरेका भुवनले आफ्नो आगमनसँगै रोमान्टिक फिल्मको दौड सुरु गरे । उनी भित्रिएसँगै नेपाली फिल्ममा फेन्सी ड्रेसले व्यापकता पायो । खानदानी घरानाका केसीका जुँगा, मखमली हाँसो र डिंगो बुट दर्शकलाई हलसम्म तान्ने शक्तिशाली चुम्बक मानिए । फिल्ममा झैं बाहिरी जीवनमा पनि रोमान्टिक भएका कारण सामाजिक रूपमा भने उनले उति प्रतिष्ठा कमाएनन् । तर धेरै हिट फिल्म दिने नायकमा उनी पहिलो स्थानमा आउँछन् ।

शिव श्रेष्ठ र भुवन केसीको चकचकीका बेला नेपाली फिल्ममा आए, सरोज खनाल । ‘विजय पराजय’बाट फिल्ममा आउनुअघि खनालसँग थुप्रै नाटकमा काम गरेको अनुभव थियो । चरित्रलाई गहिराइमा डुबेर आत्मसात गर्ने स्वभावका कारण सुरुमै उनी जमिहाले । टेलिसिरियलमार्फत पनि थुप्रै दर्शक कमाएका खनालले ‘सारंगी’, ‘प्रेमपिण्ड’, ‘रगत’, ‘मोहनी’जस्ता फिल्मबाट थप दर्शक कमाए । तर फिल्मको उडानमा रहेका उनले फ्याट्टै जहाज समाते र अमेरिका पलायन भए ।

शिव श्रेष्ठ र भुवन केसीले मात्र नभ्याइरहेका बेला कालो वर्ण, गठिलो शरीर र आकर्षक उचाइका साथ देखा परे– राजेश हमाल । पहिलो फिल्म ‘भाग्यरेखा’बाट निकालिएर लोदर कटाएका हमालले त्यसयता २५ वर्ष कटाइसकेका छन् । एउटा कलाकारलाई सुपरस्टार बन्न अभिनयमात्र काफी हुन्न । त्यतिबेला भुवन केसीको डिंगोको चर्चा त थियो, तर सर्वसाधारणको क्रयशक्तिभन्दा परको पहिरन भएकाले त्यसले चाहेजति लोकप्रियता कमाउन सकेन । तर हमालले ‘युगदेखि युगसम्म’मा यस्तो स्टाइल लिएर आए, जसलाई जो कोहीले अपनाउन सक्थे । उनको पर्यायजस्तै बनेको ‘लामो कपाल’ ट्रेडमार्क नै बन्यो । उनले कपाल काट्दा पनि ठूलो समाचार बन्न थाल्यो ।

हमालको लोकप्रियता र उनले गरेका फिल्मको गणित मिलाउन खोज्ने हो भने गणित मिल्दैन । डेढ सयभन्दा बढी फिल्ममा अभिनय गरे पनि उनका राम्रा फिल्म गन्न एउटै हातका औंला काफी छन् । ‘महानायक’को उपाधि पाएका हमाललाई सायद यो विशेषण भविष्यमा यही कारणले बिझाउन सक्छ ।

२०४६ सालको राजनीतिक उथलपुथलले सीमित मान्छेको जीवनमा परिवर्तन ल्याए पनि निमुखाको जीवनस्तरमा परिवर्तन आउन सकेन । आफ्नो सपना बेचेर अरू नै समृद्ध हुँदै गएको महसुस गरेपछि विरक्तिएकाहरू नै नेपाली फिल्मका दर्शक बने । र, नेपाली निर्माताले झूठो सान्त्वना दिने गरी धमाधम बलिउडको नक्कल गर्दै फिल्म बनाए ।

हमालले सुरु गरेको यस्ता फिल्मको परम्परामा थपिए, निखिल उप्रेती र विराज भट्ट । बलिउडमा स्टन्ट गरेको अनुभव निखिलले ‘पिँजडा’मार्फत पोखे भने विराजले हमाल र निखिलको मुक्का खाएर आफ्ना पाखुरा बलियो बनाए । अर्थात्, नेपाली फिल्ममा नायक हुनुअघि नै स्टन्टमेन थिए, विराज । त्यसपछि हमाल, निखिल र विराज मिलेर यस्ता फिल्मको बाढी ल्याए, जहाँ ‘लजिक र ¥यासनालिटी’ भन्ने चिजका लागि कुनै ठाउँ थिएन ।

निर्देशकले व्यवसायिकताका नाममा दर्शकको बौद्धिकताको यतिसम्म धज्जी उडाउँथे कि काठमाडौंमा भएको नायक आफ्नो गाउँमा आगो लाग्दा आँखा नझिम्काउँदै पुग्थ्यो । विवाहको जग्गेमा सुट लगाएर बसेको नायक विवाह बिथोल्न आउने खलनायकलाई पिट्ने बेला तु का तु जिन्स पाइन्ट र टाउकोमा फेटा बाँधेर उनीहरूको रामधुलाई गथ्र्यो ।

निखिल र विराजको चकचकी चल्नुअघि नृत्यमा पारंगत श्रीकृष्ण श्रेष्ठ र दीलिप रायमाझीले राम्रै प्रभाव छाडेका थिए । द्वन्द्वप्रधान फिल्मको बाढी आएपछि भने उनीहरू नायकका रूपमा पातलिँदै गए । तर ‘नाता’, ‘सुख दुःख’, ‘आफन्त’, ‘आफ्नो मान्छे’मा श्रीकृष्ण र नेपाली फिल्मकै माइलस्टोन मानिएको ‘दर्पणछायाँ’मार्फत दीलिपले आफ्नो परिचय स्थापित गरे ।

व्यावसायिकताको नाममा पुङ न पुच्छरका फिल्म बनाउने क्रम चलिरहेका बेला ‘कागबेनी’ र ‘सानो संसार’ बन्यो । कथा र प्रस्तुतिका हिसाबले फरक शैलीका यी दुवै फिल्ममा नायक नयाँ थिए, दुवै थिएटर पृष्ठभूमिका । सरोज खनालयता रिक्त रहेको थिएटर र फिल्मको सम्बन्ध जोड्न सौगात र कर्माले सेतुको काम गरे ।

२०६८ सालमा रिलिज भएको ‘लुट’मा सौगात र कर्माको ग्याङमा थिएटरबाटै आएका दयाहाङ पनि मिसिएपछि फिल्म सफलमात्र भएन, परम्परागत फिल्म संरचनामा यसले डोजर नै चलाइदियो । यो अवस्था आजभोलि यति सघन बन्यो, फिल्म निर्माण स्पस्ट रूपमा दुई भागमा विभाजित छ । एउटा धारले आर्यन सिग्देल र जीवन लुइटेलले नेतृत्व गरेको व्यावसायिकतालाई सर्वेसर्वा ठान्छ भने अर्कोले सौगात र दयाहाङको नेतृत्व शैलीलाई । दुवै धार व्यावसायिक हुन्, किनकि फिल्म कसैले पनि समाजसेवाका लागि बनाउँदैन ।

सुरुमै भनेझैं सौगात र दयाहाङको धारले प्रशंसासँगै मुनाफा कमाउन थालेपछि मसला फिल्मका नायक रक्षात्मक अवस्थामा आइपुगेका छन् । उनीहरूले तीव्र सहरीकरणमा फैलिँदै गरेका दर्शकको मनोविज्ञान बुझ्न सक्नुपर्छ । किनकि, अबको समाज उडन्ते कथाभन्दा यथार्थ रुचाउने अवस्थामा आइसकेको छ ।

नागरिकन्यूज डट कमबाट साभार

For More videos Log on to Mazzako TV