फिल्म ‘सेन्टी भाइरस’ ले ९ दिने ग्रस कलेक्सन सार्वजनिक गरेको छ । आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘सेन्टी भाइरस’ ले ९ दिनमा ४ करोड ८ लाख ग्रस कलेक्सन गरेको जानकारी बितरक गोबिन्द शाहीले बताए । यसमा काठमाडौँबाट २ करोड १० लाख ३ हजार र भ्याली बाहिर १ करोड ९० लाख ५ हजार कमाएको बताइयो ।

कलेक्सन सार्वजनिक गर्दै वितरक शाहीले भने ‘दशैँ यता हलमा नेपाली फिल्मको व्यापार शुन्य जस्तै थियो । ‘सेन्टी भाइरस’ले पुनः हलसम्म दर्शकको भिड जम्मा गर्यो । यसलाई सुपरहिटको व्यापार मान्दा हुन्छ ।’
सेन्टी भाइरस सफल भएपछी कलाकार सिताराम कट्टेल धुर्मुसले दर्शक तथा मिडियालाई धन्यवाद दिए । ‘२ करोड ८५ लाखको बजेटमा फिल्म निर्माण भएको हो । जसमा विदेश राइट्सबाट १ करोड १५ लाख आएको छ । भने, डिजिटल राइट्स ४५ लाखमा विक्री भएको थियो । त्यसैले हामीले लगभग लगानी सुरक्षित गरिसकेका छौँ । अबको व्यापार नाफाको हुनेछ ।’ धुर्मुसले बताए ।

सिनेमाले लगानी उठाएर कमाएको नाफाको ५० प्रतिशत रकम चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालामा खर्च गरिदैछ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा सिताराम कट्टेलसँगै दयाहाङ राई, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, बुद्दि तामाङ, सन्दीप क्षेत्री, राजाराम पौडेललगायतको मुख्य भूमिका छ । सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्मित सिनेमामा डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोको लगानी छ ।

For More videos Log on to Mazzako TV