मिस फारवेष्ट नेपाल २०१९ को दोस्रो संस्करणको लागि आवेदन फारम सुरु भएको छ । रोयल कोलावोरेटिभ्स प्रालिको आयोजनामा सञ्चालित मिस फारवेष्ट नेपालको दोस्रो संस्करणको लागि आवेदन फारम भर्न सुरु भएको हो ।

मिस फारवेष्ट नेपाल सुदूरपश्चिमको सबैभन्दा ठूलो र प्रतिष्ठित सौन्दर्य एवम् कला प्रतियोगीता भएको आयोजकको दाबी छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मार्फत दोस्रो संस्करणबारे जानकारी गराइएको हो ।

नेपाल पर्यटन बोर्ड प्रवद्र्धक रहेको कार्यक्रमले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय स्तरमा प्रचार प्रसार गरेर पर्यटकीय गतिविधि बढाई नेपाल भ्रमण वर्ष २०२० लाई पनि सघाउने उद्देश्य रहेको आयोजक रोयल कोलावोरेटिभ्सका अध्यक्ष गजेन्द्र विक्रम शाहीले जानकारी दिए ।

गत वर्षबाट सुरु भएको मिस फारवेष्ट नेपालको दोस्रो संस्करणका लागि महेन्द्रनगर, टीकापुर र धनगढीमा क्रमशः असोज ३,४ र ५ गते अडिशन हुनेछ । अडिशनबाट छनोट भएका प्रतियोगीलाई असोज ७ गतेबाट एक महिने व्यक्तित्व विकास सम्बन्धी तालिम दिइनेछ । उक्त तालिम कोरियोग्राफर जेनिशा तामाङ्गले प्रदान गर्ने्छिन् ।

अन्तिम तालिममा सहभागी गराउन अडिसन मार्फत २७ जनालाई छनोट गरिनेछ । यसको फाइनल कात्तिक ७ गते हुनेछ । यस प्रतियोगिताको निर्णायक मण्डलमा पूर्व मिस नेपाल सुगारिका केसी, मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरका प्रमुख गोपाल कक्षपति, नमुना कलेज अफ फेसन टेक्नोलोजीकी प्रमुख ज्ञानी शोभा तुलाधार र चलचित्र निर्माता सरोज न्यौपान रहेका छन् ।

यस प्रतियोगितामा प्रथम हुनेले एक थान स्कुटर साथै क्राउन, दोस्रो हुनेले नगद ५० हजार र तेस्रो हुनेले २५ हजार रुपैयाँ पुस्कार पाउनेछन् । अन्य थुप्रै क्षेत्रमा अवसर प्राप्त गर्ने अध्यक्ष शाहीको भनाइ छ ।

यसैगरी विभिन्न १० वटा विधामा उत्कृष्ट हुनेले गिफ्ट ह्याम्परसँगै विधागत उपाधी प्राप्त गर्नेछन् । राज्यबाट सधंै उपेक्षित क्षेत्रका रूपमा चिनिने सुदूरपश्चिम र सोहीअनुरूप हेरिने यस क्षेत्रका महिलाको व्यक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्य यस प्रतियोगिताले लिएको छ ।

रोयल कोलावोरेटिभ्स प्रालि धनगढीका समाजसेवी युवा अभियान्ताका समूहले सञ्चालन गरेको संस्था हो । यस संस्थाले यस कार्यक्रम बाहेक विभिन्न सामाजिक कार्यमा समेत आफ्नो अभियान चलाउँदै आएको छ । यस संस्थाले सुदूरपश्चिमकै पहिलो कपडा बैंकका रूपमा धनगढीमा कपडा बैंकको स्थापना गरेको छ । जहाँबाट गरिब, असहायलाई राहत भइरहेको छ । र सो कार्यलाई अहिले धनगढी उपमहानरपालिकाले पनि सघाइरहेको अध्यक्ष शाहीको भनाइ छ ।

यस संस्थाले मिस फारवेष्ट कार्यक्रमबाट प्राप्त मुनाफाले धनगढीस्थित अत्यन्त असहाय एकल दलित महिलाको ६ सदस्यीय परिवारलाई वर्षभरिको रासन सामग्री उपलब्ध गराउँदै आएको छ भने विभिन्न समयमा अनाथ आश्रम, असाहय घर, महिला आश्रम, सहारा घरलाई सहयोग गर्दै आएको छ । पहिलो संस्करणको मोनिका गुरुङले उपाधी जितेकी थिइन् ।

कपडा बैंक यति बेला निकै चर्चामा आएको भन्दै यसको थप विस्तार गर्ने संस्थाको योजना रहेको छ । धनगढी क्षेत्रका विभिन्न कलेजमा कपडा संकलन केन्द्र पनि तोकिएको छ । जहाँबाट संकलन भएका कपडाहरू कपडा बैंकमा राखिने छ । यतिबेला महिलाका कपडाको अभाव रहेको भन्दै अध्यक्ष शाहीले महिलाका कपडा सहयोग गर्न सबैमा अपिल गरेका छन् । कपडा बैंकप्रति सेवाग्राहीहरूको चासो बढेकाले अहिले एकजना कर्मचारी नै राखिएको छ ।

For More videos Log on to Mazzako TV