बरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको छ । उनको राजधानीको असनमा वि.स. २००३ सालमा गायिका नूरा देवीको कोखबाट उनको जन्म भएको थियो । लामो समयदेखि दमको रोगी अभिनेत्री अधिकारीको शनिबार बिहान ८ बजे ७३ वर्षको उमेरमा निधन भएको हो । आफ्नो निवास डल्लुमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए ।

उनले ‘कन्यादान’, ‘भाउजु’, ‘स्वर्ग’, ‘चिनो’, ‘कर्जा’, ‘मंगलसुत्र’, ‘आमा’, ‘आमाको माया’, ‘बाटो मुनीको फूल’, ‘बेहुली’, ‘मुना मदन’, ‘मसान’ लगायत फिल्ममा काम गरेकी छन् ।
उनको पहिलो नाट्य अभिनय ‘कची मचा’ थियो । यसपछि उनले नाट्य अभिनयमा लामो समय विताइन् । बालकृष्ण समको निर्देशनमा ‘भक्त प्रह्लाद’, ‘बुहार्तन’, ‘नालापानी’ लगायत धेरै नाटकहरुमा उनले अभिनय गरेकी थिइन् । उनले पहिलो पटक नायिका भएर काम गरेको नाटक जगतमर्दन थापाको ‘पलाँसको फूल’ थियो ।

स्वर्गीय अधिकारीको शनिबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार संघले बताएको छ ।

For More videos Log on to Mazzako TV