गतबर्ष बलिउडमा ‘मि टू’ प्रकरण निकै चर्चामा रह्यो । बलिउड मोडेल तथा नायिका तनुश्री दत्तले मुख खोलेपछि यसले भारतमा ठूलै चर्चा पायो । यसपछि, अन्य नायिकाहरुले पनि आफूमाथि भएको यौन हिंसाको बिषयमा मुख खोले । तनुश्रीले नानाको विरुद्धमा मुम्बई प्रहरीमा उजुरी समेत दिएकी थिइन् । तर, मुम्बई प्रहरीले कुनै पनि प्रमाण नभेटिएको भन्दै यो मुद्दामा नानालाई ‘क्लिन चिट’ दिएको छ ।

नानाले ‘क्लिन चिट’ पाएपछि तनुश्रीले सामाजिक सन्जाल मा लेखेकी छिन्–‘नाना पाटेकरले पहिले पनि बलिउडका अन्य थुप्रै महिलामाथि यौन हिंसा गरेका छन् । हाम्रो मुद्दाका प्रत्यक्षदर्शी यो बिषयमा मौन बसे र झुटो प्रत्यक्षदर्शीलाई अगाडि ल्याइयो । कतिपय प्रत्यक्षदर्शीको भनाइलाई यो मुद्दामा समावेश समेत गरिएन ।’ तनुश्रीले थप भन्छिन्–‘यो कुराले मलाई आश्चर्यचकित बनाएन । भारतकी महिला भएको नाताले यस्तो कुरामा अचम्म मान्नुपर्ने अवस्था छैन । यदि, बलात्कारको मुद्दामै आलोकनाथले क्लिन चिट पाउन सक्छन् भने यौन हिंसाको मुद्दामा नाना पाटेकरले क्लिन चिट पाउनु ठूलो कुरा नै होइन । तर, यो कुराले यूवतीहरुलाई कसैको सहयोग छैन भन्ने पुष्टी गर्दछ ।’ आफ्नो जीवनमा अब यस्ता बिषयमा फेरि पनि आवाज उठाउन नपरोस् भनेर कामना गरेको समेत बताउँछिन् ।

For More videos Log on to Mazzako TV