गायिका टीका प्रसाईंको चर्चित गीत ‘माया लुकीलुकी’ को कभर भिडियो प्रतियोगिताको उत्कृष्ट हुने डान्स ग्रुपलाई उपाधि हस्तान्तरण गरिएको छ । ‘माया लुकीलुकी’ गीतको कभर भिडियो प्रतियोगिताको उपाधि ‘एजे क्रु डिडिए’ ले प्राप्त हो । छोटो समयमा नै युटुबमा अत्यधिक भ्युज पाउन सफल भएको माया लुकीलुकी गीतको कभर भिडियो प्रतियोगिताको आयोजना गरिएको थियो ।

प्राप्त भिडियोमध्ये गायिका प्रसाईंको आफ्नै युटुब च्यानलमा २१ वटा भिडियो प्रतियोगिताका निम्ति अपलोड गरिएको थियो । प्रतियोगी बाँकी २० टिमलाई पछि पार्दै उत्कृष्ट भएर एजे क्रुले उपाधि हात पारेको हो । प्रतियोगिताका विजयी क्रु एजेलाई नगद ५० हजार र सम्मानपत्र प्रदान गरिएको छ । उक्त क्रु झापाको डान्स गु्रप हो ।

एजे क्रुका एरिना विष्णु मगर, अरूण लिम्बु, अनिल नेम्वाङ, मिलन खत्री, रोहित राई, निशान लिम्बू, हरिभक्त राजवंशी र भिटेनले कभर भिडियोमा अभिनय गरेका छन् । अरूण लिम्बूले निर्देशन गरेको म्युजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् भने बुद्ध थापा मगरले सम्पादन गरेका हुन् ।

गायिका प्रसाईंको आयोजना तथा ओसेनिया एजुकेशन सोलुशनको प्रस्तुति रहेको माया लुकीलुकीले हालसम्म चार करोड ४६ लाख बढी भ्युज प्राप्त गरेको छ । आनन्द अधिकारीले लेखेको उक्त गीतको कम्पोज तथा एरेञ्ज आशिष अविरलले गरेका हुन् ।

For More videos Log on to Mazzako TV