Rekhaदुई हजार सत्तरी सालमा पुगनपुग एक सयजति चलचित्रहरु प्रदर्शनमा आए । त्यसमध्ये चार वटा चलचित्रले मात्र आफ्नो लगानी उठाएर पाँच दश लाख रुपैयाँ कमाउन सफल भए भने बाँकी सबै नै चुर्लुम्म डुबे अर्थात फ्लप भए । यसलाई समस्टीमा एक लाइनमा भन्ने हो भने वर्ष २०७० मा नेपाली चलचित्र क्षेत्रको लगभग ५० करोड रुपैयाँ स्वाहा भएको छ । तर सत्तरी सालको अन्त्यतिर लागेको चलचित्र नाइँ ‘नभन्नु ल २’ ले भने ६ दिन मा नै लगभग डेढ करोड करोड भन्दा माथिको ग्रसको विजनेश गर्न सफल भएको छ । ‘नाइँ नभन्नु ल २’ सँगै लागेको अर्को चलचित्र ‘मनले मनलाई छुन्छ’ ले पनि दर्शकको मन छोएको देखिन्छ ।

यो वर्ष ब्ल्कबस्टर मानएिका चलचित्रहरुमा चलचित्र ‘काली’, ‘छ एकान छ’, ‘होस्टेल’ र ‘झोला’ रहेका छन् । तर सत्तरी सालको अन्त्यतिर आएर लागेको चलचित्र ‘नाइँ नभन्नु ल २’ ले प्रारम्भिक व्यापार जुन रुपमा गरेको छ त्यसलाई अभुतपुर्व नै मान्नु पर्ने हुन्छ । यसअघि हामीले उल्लेख गरेका ब्ल्कबस्टर चलचित्रहरुले पनि ‘नाइँ नभन्नु ल २’ को जस्तो प्रारम्भिक व्यापार भने गरेका थिएनन् । यसअर्थ चलचित्र ‘नाइँ नभन्नु ल २’ ले अहिले नै सबैको इनिसियल व्यापार तोडिदिएता पनि हाल चलचित्र चलिरहेका कारण यसको छिनोफनो आजै गरिहाल्न त्यती उचित नहोला ।

त्यसैले ‘नाईं नभन्नु ल २’ लाई छाडेर यी चार चलचित्रहरुको कुरा गर्नु पर्दा यी चार चलचित्रहरु मध्ये चलचित्र ‘काली’ले सर्वाधिक राम्रो व्यापार गरी नम्बर वान चलचित्र बन्न पुगेको छ तर नेपाल बाहिरबाट उठेको रकमलाई हिसाब गर्ने हो भने चलचित्र ‘छ एकान छ’ ले बाजी मारेको देखिन्छ ।
यसअर्थ कमाइको हिसाब गर्ने हो भने चलचित्र ‘छ एकान छ’ वर्ष दुई हजार सत्तरीको नम्बर वान चलचित्र हुन जान्छ ।

‘छ एकान छ’ र काली पछाडी तेश्रो नम्बरमा चलचित्र ‘होस्टेल’ आउँछ । नयाँ निर्देशक र नयाँ कलाकारलाई लिएर पनि चलचित्र ‘होस्टेल’ले साह्रै नै राम्रो व्यापार गर्न सफल भएको थियो । यस्तै सय वर्ष अगाडीको यथार्थ घटनामा बनेको चलचित्र ‘झोला’ले पनि दुई हजार सत्तरी सालमा आफुलाई अब्बल चलचित्रको रुपमा प्रस्तुत त गर्यो नै व्यापारिक हिसाबमा पनि आफुलाई एउटा सफल चलचित्रको रुपमा उभ्यायो ।

चलचित्र ‘काली’ मूल धारमा बनेको परम्परागत शैलीको चलचित्र ष्थियो भने ‘छ एकान छ’ पूर्णतह कमेडीलाई आधार बनाइ निर्माण गरिएको चलचित्र थियो । तर ‘होस्टेल’ भने नयाँ प्रयोग थियो । किनकी होस्टेलमा डाइरेक्टरदेखि कलाकार सबै नयाँ थिए । ‘काली’, रेखा र गीतका कारण चलेको पाइयो भने ‘छ एकान छ’ टेलिभिजनमा हिट मानिएका हास्य कलाकारहरुको अभिनयका कारण चलेको देखियो । यस्तै होस्टेल युवा पुस्ता लक्षित चलचित्र भएका कारणले चलेको ठम्याइयो । यस्तै झोला चल्नुको पछाडी भने विषयवस्तु नै थियो ।

कलाकार को को चले त सत्तरी सालमा ?

त्यसो त सत्तरी सालमा जे जति चलचित्र प्रदर्शनमा आए र त्यसमध्ये जे जति सफल भए त्यसमा हिरोको भन्दा हिरोइनहरुकै वर्चश्व बढी देखियो । जस्तो कि कालीमा रेखा थापा । झोलामा गरिमा । यस्तै अलिअलि चलेजस्तो देखिएका चलचित्र झोलेमा प्रियंका र बितेका पलमा केकी ।

दुई हजार सत्तरी सालमा ब्ल्कबस्टर मानिएका चलचित्रहरुलाई आधार मान्दा रेखा थापालाई नै ‘हिरो अफ द् इयर’ भन्दा फरक नपर्नु पर्ने हो । तर हास्य कलाकारलाई पनि दर्शकहरुले उत्तिकै मन पराउँदा रहेछन् भन्ने कुरा चलचित्र छ एकान छ ले राम्रैसँग प्रमाणित गरिदिएको छ ।

यस्तै कुनै वर्ष वार्षिक समिक्षामा अनलक्की नायिकाका रुपमा हामीले नै ब्याख्या गरेको अभिनेत्री गरिमा पन्त सत्तरी सालमा भने झोलामा अभिनय गरेका कारण लक्की अभिनेत्री बन्न पुगेकी छिन् । झोलाले गर्दा गरिमाको गरिमा शिखरमा पुगेको छ । उनान्सत्तरी सालमा केही चलचित्रका कारण चर्चा र प्रशंसा पाएकी नायिका नीता ढुगांनालाई भने सत्तरी सालले खासै फाइदा पुर्याएन । उनले अभिनय गरेको चलचित्र छ एकान छ ब्ल्कबस्टर त भयो तर त्यसको सम्पूर्ण क्रेडिट कमेडी कलाकारले लगे ।

तर, अर्की नायिका प्रियंका कार्कीका चलचित्रहरु असफल भएपनि उनी वर्षभरी नै विजी नायिकाका रुपमा छाइरहिन् । अझ वर्षको अन्त्यतिर आएर रिलिज भएको चलचित्र ‘नाइँ नभन्नु ल २’ ले त झन प्रियंकाको चर्चा बढाइदिएको छ यतिखेर । यस्तै कुनै बेला रेखा थापाको नाम सँग सँगै जोडिने अर्को नाम झरना थापाको हुने गर्दथ्यो । झरनाका भागमा राम्रा गीतहरु पर्ने गरेकाले झरनाका गीतहरु मिडियामा घन्किरहेका हुन्थें । ती गीतहरुको कारणले पनि झरनालाई कहिल्यै पनि अस्तित्वको संकट भने परेन । तर सत्तरी साल भने झरनालाई फापेन नै भन्नुपर्छ ।

त्यसो त झरनाका सत्तरी सालमा ७, ८ वटा जति चलचित्रहरु प्रदर्शनमा आए तर ती चलचित्रहरु कहिले लागेर कहिले उत्रिए कसैलाई हेक्कै भएन । यस्तै नायिका केकी अधिकारीले अभिनय गरेका चलचित्रहरुमा उनको कामको प्रशंसा त खुवै गरियो तर ती चलचित्रहरु व्यावसायिकताको कसीमा खरो उत्रन भने सकेनन् ।

यस्तै राम्री नायिकाका रुपमा चिनिएकी नम्रता श्रेष्ठको हालत पनि केकीको जस्तै नै रह्यो । नम्रताले अभिनय गरेका दुई चलचित्रहरु मौन र मेघामा नम्रताको कामको जति प्रशंसा गरियो त्यति नै उनका ती चलचित्रहरु बक्स अफिसमा असफल सावित भए । यस्तै कुनै बेला सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएकी सुमिना घिमिरेका फिल्म पनि सत्तरी सालमा रिलिज नभएका भने होइनन् ।

तर सुमिनाका कुनै पनि चलचित्रले फूल फुलाउन भने सकेनन् । अझ सुमिनालाई त छाडा चलचित्र खेलेको भनेर दुरदुर समेत गरियो । यस्तै अर्की छाडा नायिकाकी रुपमा चिनिएकी जिया केसीका पनि सत्तरी सालमा तीन चलचित्र प्रदर्शनमा आए तर चलचित्रहरुबाट पनि जियालाई लागेको छाडा ट्याग भने उनले हटाउन सकिनन् । यस्तै कुनै बेला इन्डस्ट्री हाँक्न सक्ने नायिकाका रुपमा व्याख्या गरिएकी अभिनेत्री निशा अधिकारी त सत्तरी सालमा काउनडाउनमै परिनन् । किनकी सत्तरी सालमा उनका एउटै पनि चलचित्र रिलिज भएन ।

आफ्नो फिल्म नभएपछि निर्माता तथा चलचित्र वितरक साथी सुनिल मानन्धरको चलचित्र मोक्षको प्रचार प्रसार र च्यारेटी गर्दैमा समय बित्यो निशाको । यस्तै चपली हाइटको रिलिजपछि निकै चुरीफुरी साथ प्रस्तुत हुने गरेकी नायिका विनिता बरालको पनि सत्तरी साल चलचित्र विहिन वर्ष बन्न पुग्यो । विनिता यतिखेर चलचित्र क्षेत्र छाडी अर्कै खेतीपातीतिर लागेकी छिन् रे । तर नायिका जेशिना केसीले भने चलचित्र आधी बाटो बाटै सत्तरी सालमा आफ्नो अस्तित्व जोगाइन् ।

यस्तै बोलक्कड नायिकाको रुपमा चिनिएकी ऋचा शर्माको ‘भिसा गर्ल’को रिलिज देखि नै बोल्ती बन्द भएको थियो । उनको बोल्ती सत्तरी सालमा पनि खुलेन । सत्तरी सालमा रिलिज भएको ऋचाको एक मात्र चलचित्र ‘उमा’ बक्स अफिसमा नरामै्रसँग पछारियो । यस्तै उध्रेको चोलीको आइटम डान्सबाट ह्वात्तै माथि आएकी नायिका सुस्मा कार्की अहिलेसम्म पनि त्यही उधे्रको चोलीमै टिकिरहेकी छन् । यद्पी सत्तरी सालमा उनका तीन चलचित्र रिलिज भए । तर उनका तीनै वटा चलचित्रहरुले लगानी सुरक्षित गर्न भने सकेनन् ।

जे होस् हिरोइनको यो चर्चापछि अब हिरोहरुको कुरालाई जोडौं । त्यसो त चलेका भनिएका हिरोहरुको फिल्मले सत्तरी सालमा कुनै लछार पाटो लगाउन भने सकेनन् । सत्तरी सालमा जे जति चलचित्र ब्लकबस्टर या सुपरहिट भए ती चलचित्रहरुमा पनि हिरोहरुको अस्तित्व संकटमा नै परेको देखियो ।

संख्यात्मक हिसाबमा कुरा गर्नु पर्दा आर्यन सिग्देलको नाम अग्रपंत्तीमा आउनु पर्ने हो । किनकी सत्तरी सालमा आर्यनका सर्वाधिक चलचित्र रिलिज भए । तर, सबै चलचित्रबाट आर्यनलाई हात लाग्यो शून्य नै भयो । अब उनले आफ्नै चलचित्र ‘नोभेम्वर रेन’ बाट भने ठूलै आशा लिएका छन् रे । हेर्रौं के हुन्छ ?

यस्तै आर्यन पछि गन्तीमा आउने अर्का नायक हुन् जिवन लुइँटेल । ६९ सालमा लक्की नायकका रुपमा चिनिएका जिवनलाई सत्तरी सालमा भने लकै लागेन भन्दा पनि हुन्छ । जिवन लुइँटेल सँग सँगै आउने अर्को नाम हो राजबल्लभ कोइराला । त्यसो त राजबल्ल्भको पनि सत्तरी सालमा तीन चार वटा चलचित्र प्रदर्शनमा आए । हिरो भएर खेलेका चलचित्रहरु नचलेपनि भिलेन भएर खेलेको ‘छ एकान छ’ भने राम्रो चल्यो । फिल्म हेरुञ्जेल राजबल्लभको त्यो अभिनयलाई सबैले मन पराए पनि, तर के गर्नु ? कमेडी कलाकारको वर्चश्व रहेका कारण राजबल्लभ ‘छ एकान छ’ बाट पनि छायाँमा नै परे ।

यस्तै ‘लुट’पछि चम्किएका सौगात मल्ललाई पनि सत्तरी सालले ठूलै लोप्पा खुवाइदिएको छ । सत्तरी सालमा सौगातका कुनै पनि चलचित्रहरु सोचे जस्तो चलेनन् । यस्तै भयो भयो अर्का कलाकार दयाहागं राईको पनि । दयाहागंका कुनै पनि चलचित्रले फुल पार्न सकेनन् ।  धन्दाबाट पनि राम्रै प्रशंसा पाएका अर्पण थापाले यो वर्ष पनि चलचित्र मौन बाट राम्रै प्रशंसा त पाए तर अर्पण चल्तिका नायक भने बन्न सकेनन् ।

यस्तै अर्का नायक किशोर खतिवडाले अभिनय गरेको चलचित्र काली त चल्यो तर कालीको सारा क्रेडिट काली रेखाले नै लगीन् । यस्तै गायकबाट नायक बनेका दुई गायक यश कुमार र बाबु बोगटी पनि सत्तरी सालमा देखा त परे तर दुवै गायकको स्थिति सौगात र दयाहागंको जस्तै नै रह्यो । सत्तरी सालमा अरु थुप्रै नायक तथा नायिकाहरुका चलचित्रहरुपनि नदेखिएका भने होइनन् तर सबै नै आयाराम गयाराम नै भए ।

पहिला पहिला राजेश हमाल, विराज भट्ट, निखिल उप्रेती, करिश्मा मानन्धर, निरुता सिंह, रेखा थापा यी स्टारबिना चलचित्रको परिकल्पना पनि गर्न गाह्रो हुन्थ्यो । जबदेखि चलचित्र लुट प्रदर्शनमा आयो तबदेखि नै नेपालमा स्टारडमको पर्खाल गर्रल्यामगुर्रलुम ढलेको छ । यतिखेर स्टारडम भन्ने नै छ्रैन । सबै हिरो, सबै हिरोइन । जो भएपनि चलेकाको स्थिति छ यतिखेर ।

सत्तरी सालमा जति चलचित्र प्रदर्शनमा आए त्यतीकै संख्यामा नयाँ कलाकार थपिएका छन् चलचित्र उद्योगमा । पाँच जनाको समुहमा देखिने कुनै एक जना त्यो पक्कै पनि कलाकार नै हुनुपर्छ भनेर कुरा काट्न थालिएको छ यतिखेर ।

सत्तरी सालले अनगिन्ती कलाकारलाई जन्म दिएको छ । तर सत्तरी सालमा आएका सबै कलाकारको भविष्य उज्जवल हुने कुरामा भने ठोकुवा गर्न गाह्रै पर्छ । तथापी केही कलाकारमा भने पशस्त सम्भावना देखिएको छ । गौरव पहारी चलचित्र मञ्जरी मार्फत आए यिनले यसै वर्ष होस्टेलमा पनि अभिनय गरे । मञ्जरीमा उनको अभिनयको प्रशंसा गरियो भने उनीद्धारा अभिनित होस्टेल व्यावसायिक रुपमा सफल रह्यो । यस्तै साँघुरो मार्फत आएका सुशांक मैनाली र मोक्ष मार्फत आएका कोशिस क्षेत्रीमा केही आशा गर्ने ठाउँ देखिएपनि यिनीहरु मूल धारमा आउन सक्ने सम्भावना कमै मात्र छ ।

यस्तै मेघा मार्फत आएका अभिनेत्री मनिषा कोइरालाका भाई सिद्धार्थ कोइराला भने चर्चा परिचर्चामै हराए । उता कर्कशबाट आएका सुरज सिंह ठकुरी भने व्यस्त नायकका रुपमा देखिएका छन् यतिखेर । कर्कश पछि नाइँ नभन्नु ल २ मा देखिएका सुरज यतिखेर पनि जंगेको शिर्ष भूमिकामा अभिनय गरिरहेका छन् । तर प्रोड्युसर मार्फत हिरो बनेका श्याम अर्याल चलचित्र अफसल भएका कारण ओझेलमा पर्न पुगे ।

यस्तै होस्टेल मार्फत आएका अनमोल केसीलाई भने बाउको बिंडो थाम्न सक्ने कलाकारका रुपमा हेरिएको थियो । तर सम्भावना हुँदाहँुदै पनि अनमोल आफ्नै कारणले यतिखेर पछि परिरहेका छन् । बरु अनमोलसँगै होस्टेल बाट आएका सलोन बस्नेत भने अन्य चलचित्रहरुमा व्यस्त देखिन थालेका छन् । यस्तै बितेका पलबाट आएका अभिनाष गुरुङ्घ र वाउन्सरबाट आएका प्रशान्त गिरी पनि ‘आयाराम गयाराम’ मै सिमित हुने देखिएका छन् ।

यस्तै सत्तरी सालमा मञ्जरी मार्फत प्रवेश गरेकी सुजाता कोइरालामा प्रशस्त सम्भावना हुँदा हुँदै पनि खै किन हो कुन्नि चल्न सकिरहेकी छैनन् । तर अन्तराल मार्फत आएकी अशिस्मा नकर्मी भने यतिखेर पनि केही चलचित्रहरुमा व्यस्त नै देखिएकी छन् । यस्तै चलचित्र होस्टेलबाट उदाएका दुई नायिकाहरु प्रकृती श्रेष्ठ र रिस्ता बस्नेतको पनि सत्तरी सालमा राम्रै चर्चा भयो । चलचित्र होस्टेलमा प्रकृतीको लिडिगं भएता पनि बढी चर्चा भने रिस्ताकै भयो । रिस्ताकै थुप्रै चलचित्रहरुमा व्यस्त भएकी छिन् ।

यस्तै ऋतु मार्फत आएकी पूर्व मिस नेपाल मलिना जोशीमा पनि सम्भावना त देखिएको छ तर उनको त्यो सम्भावना भने त्यती सवल बन्न भने सकिरहेको छैन् । यस्तै सत्तरी सालमा राजनीति चलचित्र मार्फत गायिका कोमल वली अभिनयमा प्रवेश त गरिन् तर जति चर्चा राजनीतिको रिलिज अघि थियो रिलिज पछि त्यो चर्चा त्यसै त्यसै सेलाएर गयो । राजेन्द्र खड्गीकी अर्की छोरी रोमी खड्गी ‘नथिगं इम्पोसिवल’बाट आइन् तर उनलाई दोहोर्याउन फेरी राजेन्द्र खड्गीले नै फिल्म बनाउनु पर्ने हुन्छ ।

त्यस्तै छविको लोफरबाट उदाएकी रजनी केसी लोफर फ्लप भए सँगसँगै अस्ताएकी छिन् । यस्तै छविले नै ल्याएकी अर्की नायिका शिल्पा पोखरेलको त झन् बोहनी नै बिग्रिएको छ । अर्की रेखा थापा भनेर छविले प्रचार गरेतापनि नायिका शिल्पाको आवाजले साथ नदिएका कारण उनको डविगं अरुले नै गरिदिएका छन् ।

हामीले भर्खरै जति नव कलाकारहरुको बारेमा उल्लेख गर्यौं त्यसको दोब्बर संख्यामा अरु नायिकाहरु पनि सत्तरी सालमा आए । तर तिनीहरुको काम यतिखेर कपाल हाइलाइट गर्नु र नेल पोलिस लाउनु बाहेक अरु देखिएको छैन ।

अब निर्देशकिय क्षमताका बारेमा केही कुरा गर्रौं ।

२ हजार सत्तरी सालमा प्रदर्शनमा आएका चलचित्रहरुमध्ये सर्वाधिक चलेका चलचित्रहरुका निर्देशकहरुलाई नै सत्तरी सालको अब्बल निर्देशक मान्नु पर्ने हुन्छ । यसअर्थ कालीका निर्देशक सविर श्रेष्ठ तथा छ एकान छ का निर्देशक दिनेश डिसी सत्तरी सालका ब्ल्कबस्टर निर्देशक हुन् । तर ती दुवै चलचित्र निर्देशकिय क्षमताका कारण मात्रै चलेका हुन् भनेर कसैले भन्न सकिरहेका छैन । काली रेखा र गीतका कारण चलेको भन्नेहरु नै धेरै छन् भने छ एकान छ कमेडी कलाकारको बाहुल्यताका कारण चलेको भन्ने ठम्याइ छ सबैको । तरपनि क्याप्टेन भनेको क्याप्टेन नै हो । दुवै चलचित्रका जस जति अरुले लगेपनि अपजस मात्रै निर्देशकको थाप्लोमा हाल्न भने मिल्दैन । यसअर्थ सविर र दिनेश सत्तरी सालका डाइरेक्टर अफ द् इयर भन्दा फरक नपर्नु पर्ने हो तर वर्षको अन्त्यमा आएर रिलिज गरिएको चलचित्र नाइँ नभन्नु ल २ ले पहिलो सातामा नै रेकर्ड तोड विज्नेश गरेका कारण सविर र दिनेशलाई विकासले उछिनेका छन् ।

यसअर्थ विकास नै सत्तरी सालका अब्बल निर्देशक ठहरिन पुगेका छन् । यसअघि उनान्सत्तरी सालमा पनि चलचित्र रिदमका कारण विकास नै डाइरेक्टर अफ द् इयर बनेका थिए । त्यसो त विकासको पहिलो परिचयभ नेको लेखक हो । तर आएर विकास निर्देशकका रुपमा स्थापित भए । विकासले रिदमको स्क्रिप्ट लेख्दै गर्दा पशुपतीका पगला बाबाले उनलाई एकमुखी रुद्राक्ष दिएका रहेछन् । भनिन्छ त्यही रुद्राक्ष पाएदेखि विकासको भाग्य चम्किएको हो रे । हुन पनि त्यस्तै नै भयो ।

६९ सालमा चलचित्र रिदम ब्ल्कबस्टर भयो भने ७० सालमा नाईं नभन्नु ल २ ले अहिलेसम्मको सबै रेकर्ड तोडेको छ । जय होस् पगला बाबाको । यस्तै गत वर्ष विकासपछि अब्बल निर्देशकको सूचिमा अटाएका सुरज सुब्बा नाल्बो भने सत्तरी सालमा चिप्लिएका छन् । तर गौ प्राणी निर्देशकका रुपमा चिनिएका निर्देशक नवल नेपालले भने यो वर्ष पनि एउटै चलचित्रबाट राम्रो प्रशंसा पाए । चलचित्र महसुशबाट पाएको प्रशंसाले गर्दा नवलले छवि ओझाको चलचित्र लज्जाको निर्देशन समेत गरे । र लज्जा रिलिज नहुँदै नवल यश कुमार नयाँ चलचित्र बाटो मूनिको फूल २ मा समेत अनुबन्धित भएका छन् । यस्तै कुनै बेलाका हिट डाइरेक्टर मानिने दिपक श्रेष्ठलाई पनि सत्तरी साल फापेन । ‘रंंग वे’ले चुर्लुम्म डुबाइदिएको छ दिपकलाई ।

यस्तै निर्देशक सुदर्शन थापा, शोभित बस्नेत, अर्का निर्देशक दयाराम दाहाल, कमलकृष्ण, राजु गिरी लगायतका एक दर्जन जति निर्देशकहरुलाई पनि सत्तरी सालको बाढीले बगाएको छ । तर निर्देशक शोभित बस्नेत र अर्का निर्देशक कमलकृष्णले भने हिन्दी फिल्मको डाइरेक्सन गर्ने भनेर गफ दिएकै भरमा वर्ष भरी नै चर्चा भने बटुलि नै रहे । नव प्रवेशी निर्देशकहरुमा भने अन्तरालबाट प्रवेश गरेकी दीपा बस्नेतको बारेमा केही आशा गर्ने ठाउँ देखिएको छ । उनको कामको समिक्षाकहरुले राम्रै प्रशंसा गरेपनि उनको चलचित्रले सफलता हाँसिल गर्न भने सकेन ।

यस्तै कर्कशबाट आएका आशिफ शाहलाई पनि सम्भावना बोकेको निर्देशकका रुपमा चित्रण त गरियो तर कम बजेटमा बनेको चलचित्र कर्कशले त्यो कम बजेट पनि उठाउन सकेन । यस्तै साँघुरोका जोयश पाण्डे, मौनका सुरज भूषाल, प्रोड्युसरका जनकदिप पराजुली, मेघाकी सम्झना रौनियार, फिटकिरीका अनुप बरालमाथि पनि थुप्रैले आशा गरेपनि त्यो आशा फिल्मको व्यापारले निराशामा परिणत गरिदिएको छ । तर होस्टेलबाट आएका हेमराज विसी व्यावसायिक सफल निर्देशक भए भने झोला मार्फत प्रवेश गरेका सञ्चारकर्मी यादव भट्टराईको प्रशंसा पनि राम्रै भयो गरियो । यस्तै मोक्ष मार्फत आएका प्रविन श्रेष्ठ समिक्षकहरुको आँखामा अब्बल ठहरिएपनि प्रविनको फिल्म व्यापारिक हिसाबमा अब्बल ठहरिएन । यस्तै लोफरबाट आएका आदित्य विक्रम लम्साल लोफर असफल भएपछि थप पढ्नका लागि भनेर यतिखेर अमेरिका भासिएका छन् ।

अब गीत संगीतको प्रसंग ।

सत्तरी सालमा रिलिज भएका चलचित्रहरुको संख्यालाई हेर्दा र एउटा चलचित्रमा सरदर तीन वटा गीत मात्रै राखिदा पनि लगभग चार सय जति गीतहरु बनेको अनुमान लगाउन सकिन्छ । तर ती चार सय गीतहरुमा चार वटा गीत पनि चल्न धौ धौ परेको देखियो २ हजार सत्तरी सालमा । तथापी चलचित्रको अडियो रिलिजको नौटंकी भने वर्षभरी मञ्चन भैरह्यो । अचेल चलचित्रका गीतहरुको सिडी बजारमा एउटा पनि बिक्तैनन् । जे जति आउने हो सिआरबीटिबाट मात्रै आउने हो । यसै सम्बन्धि लेखाजोखा अबको क्रममा ।

चलचित्र काली जति चल्यो कालीको यो गीत फिल्म भन्दा पनि बढी चल्यो । र कालीलाई चलाउनमा यो गीतको प्रमुख हात रहेको धेरैको ठम्याइ छ । अचेल कुनै पनि भोज भतेर, पिकनिक वा साँस्कृतिक कार्यक्रमहरुमा यही गीत बढी घन्किने गरेको सबैले महसुश गरेकै कुरा हो । यसअर्थ चलचित्र कालीको यो गीत वर्ष २ हजार सत्तरीको नम्बर वान गीत बन्न पुगेको छ । यस्तै विन्दास २ को सुन्छु तिमीले मलाई भन्ने गीतलाई पनि दर्शक श्रोताले रुचाएको पाइयो ।

सिआरविटि कलेक्सनबाट पनि यो गीतले राम्रै कमाएको छ । प्रस्तुत गीतका संगीतकार भने अर्जुन पोखरेल हुन् । यस्तै वर्षको अन्त्यतिर आएर रिलिज भएको चलिचत्र नाइँ नभन्नु ल २ का गीत संगीतले भने राम्रैसँग बजार ततायो । यी आँखामा तिमी छौं र मर्ने कसैलाई रहर हुँदैन बोलका गीतहरुलाई दर्शक तथा श्रोताले औधी मन पराएको पाइयो । गीतको भिडियो हेर्ने र सिआरविटी राख्नेहरुको संख्या पनि थोरै छैन । नाइँ नभन्नु ल २ का गीतहरु जसरी मन पराइदैछ यतिखेर त्यसरी नै बाल गायक प्रेम परियारको स्वरको पनि निकै प्रशंसा भैरहेको छ यतिखेर ।

चलचित्र कालीको स्लोली स्लोली र नाइँ नभन्नु २ को यी आँखामा तिमी छौं गीतका कारण वर्ष २ हजार सत्तरीमा पनि संगीतकार बसन्त सापकोटा नै नम्वर वान संगीतकार बन्न पुगेका छन् भने अन्य संगीतकारहरुमा हरी लम्साल, अर्जुन पोखरेल, टंक बुढाथोकी र शम्भूजित बाँस्कोटाले पनि आफ्नो अस्तित्व जोगाउन सफल भएका छन् ।

गीत संगीतको यो चर्चापछि अब २ हजार सत्तरी सालमा नेपाली चलचित्र क्षेत्रमा के कस्ता घटना परिघटना घटे ? त्यसबारे केही चर्चा गर्रौ ।

त्यसो त रेखा थापाले आफ्नो निर्माणधिन चलचित्र हिम्मतवालीका निर्देशक श्याम भट्टराईलाई लात हानेर सुटिगंबाट निकालेको प्रसंग नै सत्तरी सालको प्रमुख घटना बन्न पुगेको छ । उक्त घटना प्रती रेखाको भनाइ एकथरी छ भने श्याम भट्राईको भनाई अर्को थरी छ ।

२ हजार सत्तरी सालमा घटेका घटना परिघटनाको कुरा गर्दा सत्तरी सालमा सम्पन्न दोश्रो संविधान सभाको निर्वाचनको विषयलाई नजर अन्दाज गर्न भने मिल्दैन । उक्त निर्वाचनमा चलचित्रकर्मीहरुले पनि जोडतोडका साथ आ आफ्नो सहभागीता जनाए । निर्माता तथा हल सञ्चालक उद्धव पौडेल त राप्रपा नेपालको तर्फबाट उम्मेरदवार पनि बन्न भ्याए । लगभग लगभग चलचित्र क्षेत्रका प्रायः सबै कलाकर्मीहरु नै उद्धव पौडेललाई जिताउन लागि परे । तर कसैको केही लागेन । अन्ततः उद्धव पौडेलको जमानत जफत भयो । यसैबाट पनि अनुमान लगाउन सकिन्छ कि हाम्रा चलचित्रकर्मीहरुको क्रेज कत्तिको रैछ भन्ने कुरा ।

कहाँबाट चल्छन् त हाम्रा फिल्महरु ? जे होस् उद्धव पौडेलले जस्तै अभिनेत्री रेखा थापाले पनि ए.नेकपा माओवादीको टिकट त पाइन् तर रेखाको टिकट प्राप्ती केटाकेटीले भाँडाकुटी खेले जस्तै भयो । चुनावमा उठ्ने मान्छेको मतदाता लिस्टमा नामै रहेनछ । कति हाँस्नु…यस्तै हाँसो अभिनेता भुवन केसीको पनि भयो । टिकट पाएको बाह्र घण्टा पनि नबित्दै टिकट गुमाउनु पर्यो भुवनले । तथापी समानुपातिक कोटामा पर्ने आशामा झुन्डिएका भुवन एमाले नेताहरुको अघिपछि कार्यकर्ता झै घुमिरहे । तर त्यसमा पनि भुवनले धोका नै पाए । रेखा चुनावमा उठ्न नपाएपनि ए.माओवादीको चुनावी गीतमा भने नाच्न भ्याइन् ।

चुनावमा उठेर मन्त्री बन्ने चाहना पूरा नभएपछि रेखा समाजसेवातिर लागीन् । उनले रेखा थापा फाउन्डेसनको स्थापना गरिन् र सुदुर पश्चिम क्षेत्रबाट चार जना राउटे बच्चाहरुलाई ल्याएर लालनपान र पठनपाठनको चाँजोपाँजो मिलाइदिएकी छन रेखाले । त्यसो त रेखाको यो समाज सेवालाई पनि डलर कमाउने दाउ भनी कुरा काट्नेहरु पनि धेरै भेटिए ।

जे होस् रेखापछि करिश्माको प्रसंग । त्यसो त अभिनेत्री करिश्मा मानन्धर सँग सँगै र त्यसपछि अनगिन्ती अभिनेत्रीहरु नेपाली रजतपटमा देखिए । तर ती अभिनेत्रीहरु मध्ये ९५ प्रतिशत अभिनेत्रीहरु कता हराए या के गर्दैछन् कसैलाई भेउ छैन । तर करिश्मा अझैपनि उत्तिकै सक्रिया देखिएकी छिन । सभा समारोह देखि साँँस्कृतिक कार्यक्रमहरुमा सहभागी भएरै पनि करिश्माले आफ्नो नामलाई जोगाइ राख्न भ्याएकी छन् । बेला बखतमा आफ्नो घरमा चलचित्रकर्मीहरुलाई बोलाइ जमघट गराएरै भएपनि करिश्मा यही क्षेत्रमा अझै रही रहेको अभास दिलाइ रहन्छिन् । प्रत्येक वर्ष झै यस वर्षपनि करिश्माले होली सबै कलाकर्मीलाई घरमा बोलाएर खेलिन् र खेलाइन् ।

सत्तरी सालमा दुइ वटा दुःखद समाचारले पनि स्थान पाए । थुप्रै सफल फिल्मका निर्देशक शिप रेग्मी हामीबाट सदाका लागि बिदा भए भने लामो समयदेखि नेपाली चलचित्रहरुमा मेकअप म्यानका रुपमा काम गर्दै आएका साम्भा डि पाटिल पनि सत्तरी सालमै सदाका लागि अस्ताए । यी दुवै कर्मीलाई हाम्रो हार्दिक श्रद्धा सुमन !

–प्रकाश सुवेदी, रजतपट

For More videos Log on to Mazzako TV